भदौ ११, मोरङ । कानेपोखरी गाउँपालिका–४ धम्कुवास्थित नवदिशा सुधार केन्द्रमा सुधारको लागि उपचाररत एक युवाको मृत्यु भएको छ ।
कानेपोखरी गाउँपालिका–७ पच्चिसबिघे बस्ने वर्ष २९ को अम्मर लिम्बुको भदौ ५ गते शुक्रबार राती ९ः४० बजे मृत्यु भएको हो । लिम्बुको मुटु र फोक्सोमा समस्या देखिएपछि रमाइलो स्थित २४ घन्टे सिम्रिक मेडिकलमा सामान्य उपचार पछि कानेपोखरी अस्पताल बयरवन लगिएको थियो ।
उपचारको क्रममा डाक्टरले मृत्युभएको घोषणा गरेको इलाका प्रहरीकार्यालय पथरीका डिएसपी वीर दत्त पन्तले बताए ।
मृत्यु भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न शवलाई पोस्टमार्टमका लागि उर्लाबारी स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो । पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
तर कानेपोखरी अस्पतालका डाक्टर अभिजित खड्काले लिम्बु मृत अवस्थामा अस्पताल ल्याएको बताए ।
त्यसपछि अस्पतालमा अन्य वडा नं. ६ का दलबहादुर लिम्बु र वडा नं. २ का अनुरोध ऋषिदेवलाई पनि फरक समयमा उपचारको लागि भर्ना गरिएको थियो । उपचार पछि दलबहादुर लिम्बु घर लगेका छन् भने अनुरोध ऋषिदेवलाई थप उपचारको लागि विराटनगर लगिएको रमाइलो प्रहरी चौकीले जनाएको छ ।



