हराएको तीनदिन पछि १२ बर्षिया बालिका लेटाङको जंगलमा मृत भेटिइन्

फागुन १३ गते, पथरी । १२ बर्षिय बालिका हराएको ३ दिन पछि मोरङको लेटाङको जंगलमा मृत फेला परेकी छिन् । शुक्रबार बिहान लालहीरा सामुदायिक वन भित्र लेटाङ –८ ज्यामिरे टोलकी करुण राईको शव फेला परेको हो ।

उनी फागुन ११ स्कूल छुटी भएर घर फर्किने क्रममा हराएकी थिइन् । ज्यामिरे टोलदेखि करुण अध्ययन गर्ने स्कूल जाते उच्च मावि पुग्न एक घण्टा पैदल हिडेर जानु पर्दछ । ज्यामिरे मोरङको उत्तरी बिगट पहाडी क्षेत्रमा पर्दछ । करुण कक्षा ६ मा अध्ययरत छिन् ।

प्रहरीले यस घटनामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । ‘अनुसन्धानको लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘घटनाको सोधपुछ र अनुसन्धान भइरहेको छ ।’

मृतकको शव नाङ्गो अवस्थामा भेटिएको छ । प्रहरीले उत्खनन गरेर उनको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागेको छ । खोजी गर्ने क्रममा शव गाडेर माथिबाट ढुङ्गाले छोपेको अवस्थामा शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले उत्खनन गर्दा शव भेटिएको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ । अहिले पनि लेटाङ प्रहरीले घटनास्थलमै रहेर अनुसन्धान गरिरहेको छ ।

बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूर्ण बनेको थियो । करिब पाँच सयको सङ्ख्यामा भेला भएका स्थानीयले नाराबाजी र प्रदर्शन गरेर घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

सम्बन्धित खवर