भुल्के सुन्तोली वनको चुनाव पुस ७ गते, वन समूहको ऋण ४० लाख

५ पुस, कानेपोखरी । ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहबाट भखरै तीन खण्डमा विभाजित भएको भुल्के सुन्तोली सामुदायिक वन उपभोत्ता समूहको पुष ७ गते चुनाव हुने भएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका –६ स्थित विहिबारे उत्तरमा रहेको भुल्के सुन्तोली सामुदायिक वन उपभोत्ता समूहको पुष ७ गते चुनाव हुने भएको हो । वन समितिमा अन्य सवै पदमा सर्वसम्मत चयन भएका छन् भने अध्यक्ष र उपाध्यक्ष पदमा मात्र चुनाव हुने छ । सहमतिमा कुरो नमिलेपछि दुई पदको लागि निर्वाचन नै गर्नु परेको हो ।

वन समूहको अध्यक्ष पदमा शेरबहादुर लिम्बू र भीमराज लिम्बूवीच प्रतिष्पर्धा हुने भएको छ । त्यसैगरी उपाध्यक्षको लागि अमरबहादुर घिसिङ, पूर्णबहादुर बोहोरा र राजकुमार जिमीवीच प्रतिष्पर्धा हुने भएको छ ।

पालिका स्तरीय छलफलमा पहिलो कार्यकालको लागि शेरबहादुर लिम्बूलाई अध्यक्ष दिने सहमति भएपनि स्थानीय स्तरमा मिल्न नसकेपछि निर्वाचनमा जान लागेको हो । यद्यपि कांग्रेस, एमाले र माओवादी सम्बद्ध उपभोक्ताहरुले सहमतिकै आधारमा भोट दिने सहभाति भएको अध्यक्षका उमेद्वार शेरबहादुर लिम्बूले बताए ।

समितिको सचिवमा कौशिला कार्की, सहसचिवमा जितकुमार राई र कोषाध्यक्षमा टंकमाया श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा नरबहादुर केदेम, सकल केदेम, योण्डरसिंह खड्का, बलबहादुर चेम्जोङ, शान्ता मगर, कृष्ण ताम्ली, पवित्रा बस्नेत, मनकुमारी मगर, शोभा बानिया सर्वसम्मत चयन भएका हुन ।

अनुगमन समिति संयोजकमा ईश्वरकुमार राई, सदस्य रोशन राई, लेखा समिति संयोजकमा मनिराज लिम्बू, सदस्यमा बिर्जुलाल माझी चयन भएका छन् ।

भुल्के सुन्तली सामुदायिक वनको २२८.९२ हेक्टर क्षेत्रफल रहेको छ । यस वनमा उपभोक्ताको संख्या १००४ जना रहेका छन् ।

विभाजन हुनु अघि देखी नै वन समूहमा १ करोड ६० लाख, ४० हजार ४ सय ५ रुपैया ऋण छ । कुल ऋण मध्येबाट ग्रामिण सुधार सामुदायिक वनले (३५ प्रतिशत) ५६ लाख १४ हजार १ सय ४३ रुपैया, दहि लामिचौरी सामुदायिक वनले (४० प्रतिशत) ६४ लाख १६ हजार १ सय ६२ रुपैया र भुल्के सुन्तली सामुदायिक वनले (२५ प्रतिशत) ४० लाख १० हजार १ सय १ रुपैया ऋण व्याहोर्ने गरी सहमती भएपछि वन समूह तीन खण्डमा विभिजित भएको थियो ।

सम्बन्धित खवर