२ असार, लेटाङ । मोरङको लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले एक वृहत कार्यक्रम गरि १५ औं नगरसभाबाट पारित बजेट ६० करोड ८५ लाख ३७ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।
लेटाङ नगरपालिकाले गत असार १० गते सम्पन्न १५ औँ नगरसभाबाट स्वीकृत बजेट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट पुस्तिका सार्वजनिक गर्दै लेटाङ नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए ।
कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन् । आन्तरीक आय ९ करोड ४८ लाख १५ हजार, नेपाल सरकार र प्रदेश सरकारको राजस्व बाँडफाँडबाट प्राप्त आय ११ करोड ९५ लाख ३ हजार, सघीय सरकार वित्तीय समानीकरण अनुदान, सशर्त, समपूरक र विशेष अनुदानबाट प्राप्त बजेट ३६ करोड ८ लाख ७० हजार, प्रदेश सरकार वित्तीय हस्तान्तरण अन्तरगत वित्तीय समानीकरण अनुदान, सशर्त, समपूरक र विशेष अनुदानबाट प्राप्त २ करोड ९८ लाख ४९ हजार र जनसहभागिता ३५ लाख बजेट अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
त्यस्तै व्यय तर्फ आर्थिक विकासमा ६ करोड २ लाख ६५ हजार, सामाजिक विकास तर्फ २७ करोड ४ लाख ७३ हजार, पूर्वाधार विकासमा १२ करोड ८ लाख, सुशासनमा ४ करोड ५ लाख ९६ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिकमा ११ करोड ६४ लाख रुपैया अनुमानित बजेट प्रस्तु गरिएको छ ।
चालु आर्थिक बर्ष २०८०/०८१ को ७५ करोड ४२ लाख ४८ हजार मध्ये कुल अथार्थ आय ५८ करोड ८२ लाख १२ हजार ८ सय रुपैया रहेको छ ।
कार्यक्रममा नगरपालिकाले विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सेवानिवृत्त शिक्षक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट कृषक, एसई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, नगरमा रहेका डाक्टर, पाइलट, खेलाडी, सामुदायीक वन लगायतलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले स्टल राखेर स्थानीय उत्पादनहरुको प्रदर्शनी समेत गरिएको थियो । लेटाङमा उत्पादित मह, कफि, सुपारीको टपरी, जुत्ताचप्पल, खाद्यान्न, ढाकाका कपडा, केराबाट धागो बनाउने प्रविधि, बाँसका कलात्मक समाग्री आदिको स्टल राखिएको थियो ।
पहिचानवादीहरुलाई संवाद र वार्तामा आउन आग्रह – मन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लेटाङ नगरपालिकाले सबै क्षेत्रलाई समेटेर परिपक्व बजेट ल्याएको भन्दै लेटाङको कृषि क्षेत्र र पर्यटन विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले लेटाङ नगरपालिका मह उत्पादनमा प्रख्यात रहेको भन्दै कफि, खेति समेत सुरु गरिएकोमा प्रदेश सरकारले अवाश्यक सहयोग गर्ने प्रतिवद्धता गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले २०८२ साललाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारको बजेट निर्माण गर्ने क्रममा पालिकाहरुसँग छलफल गरेर योजना माग गर्ने बताए । मुख्यमन्त्री कार्कीले पहिचानवादीहरुलाई संवाद र वार्तामा आउन आग्रह समेत गरे । आफूले मुख्यमन्त्री हुँदा पहिचान र धर्म संस्कृतिको संरक्षणका लागि धेरै काम गरेको भन्दै उनले आफू पहिचान विरोध नरहेको बताए । मुख्यमन्त्री कार्कीले निशेधको राजनीति त्यागेर संवाद र छलफलबाट समाधान खोज्न पहिचानवादीहरुलाई आग्रह पनि गरे ।
कार्यक्रममा बोल्दै नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तथा पूर्वसांसद घनश्याम खतिवडाले लेटाङ क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरु बारे उल्लेख गरेका थिए । उनले मदन भण्डारी राजमार्गका कारण लेटाङ क्षेत्रको विकासले गति लिएको भन्दै उत्तर दक्षिण जोड्ने विभिन्न राजमार्गहरुको स्तरोन्नती गर्नुपर्ने अवाश्यकता रहेको बताए । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले लेटाङ नगरपालिकाले गत आर्थिकवर्षमा गरेका कामको समीक्षा गर्दै आगामी आर्थिक वर्षको बजेटका विशेषता बारे जानकारी गराए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापो, बेलबारी नगरपालिकाका प्रमुख डीपी राई, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईं, लेटाङका पूर्वनगर प्रमुख शंकर राई, विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।