टिकटकमाथिको प्रतिबन्ध हटाउने, बिहीबारबाट टिकटक चल्ने

५ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन ।

मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब भोलि बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस गर्ने सञ्चार मन्त्रालय स्रोतले बताए ।

‘टिकट प्लेटफर्ममाथिको रोक हटाउन स्वीकृति दिने निर्णयमा बुधबार मन्त्री गुरुङले हस्ताक्षर गरेर क्याबिनेटमा डिसिजनका लागि पठाउनु भएको छ ।

बिहीबार क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्नेछ । क्याबिनेट निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ ।

लगत्तै, बिहीबारबाटै टिकटक चल्ने सञ्चार मन्त्रालय निकट स्रोतले जनाएको छ । गत असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

टिकटकको लाइभ स्ट्रिमिङदेखि छोटा भिडिओहरू नेपाली समाजसँग मेल नखाने भएको भन्दै प्रतिबन्ध लगाउने निर्णयमा पुगेको सरकारको तर्क थियो ।

सरकारको निर्णय पुनर्विचारका गर्न चिनियाँ पक्षले सरकारलाई आग्रह गरेको थियो । यसअघिकी सञ्चारमन्त्री रेखा शर्माले जारी गरेको सामाजिक सञ्जाल निर्देशिकाले नेपालको कानुन मानेर आउने जुनसुकै प्लेटफर्म पनि सञ्चालन हुन पाउने उल्लेख थियो ।

त्यसअघि भएको सर्वदलीय बैठकमा तत्कालिन प्रमुखप्रतिपक्षी दलका नेता समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकटक बन्द गर्न जोड दिएका थिए । ओलीकै सुझाव अनुसार, प्रचण्ड सरकारले टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

२०८० माघदेखि टिकटकले उच्च तहका अधिकारीलाई नेपाल भ्रमणमा पठाएरै प्रतिबन्ध खुलाउन प्रयास गरेको थियो ।

दस जनाभन्दा बढी टिकटकका प्रतिनिधिले राजनीतिक भेटवार्ता गर्दै निरन्तर ताकिता गरे । सञ्चारमन्त्री रेखा शर्मासँग पटकपटक भेट गरे । तर, प्रचण्ड सरकार रहुञ्जेल प्रतिबन्ध हट्न सकेको थिएन । सरकारले प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा दायर भएका थिए ।

सर्वेच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’ भन्दै सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थिया ।

प्रधानमन्त्री प्रचण्ड २०८० असोज ५ गते अमेरिका हुँदै चीन भ्रमण गए । त्यहाँबाट १३ असोजमा फर्किएलगत्तै मन्त्रिपरिषदले टिकटक प्रतिबन्धको निर्णय लिएको थियो ।

अघिल्लो सरकारले गरेको सो निर्णयमा चीनले असन्तुष्टि जनाउँदै ‘चीनविरोधी’ निर्णयको आरोप लगायो । पश्चिमाहरूले चिनियाँ प्रविधिलाई निरुत्साहित गर्ने नीति लिएका बेला नेपालसमेत त्यस्तै नीतिबाट प्रभावित भएको चीनको भनाइ थियो ।

सम्बन्धित खवर