२६ कार्तिक, पथरी । पथरी शनिश्चरे १० स्थित ओम सियार जम्बुलिङ बज्र गुम्बामा सात दिने बौद्ध धर्म परम्परा अनुसार एकहप्ता धार्मिक कार्यक्रम हुने भएको छ ।
ओम सियार जम्बुलिङ बज्र गुम्बाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मंसिर २ गतेदेखि ८ गते सम्म विभिन्न धार्मिक कार्यक्रम हुने बताएका थिए ।
नेपाल तामाङ लामा गेदुनको आयोजना र ओम सियार जम्बुलिङ बज्र गुम्बा व्यावस्थापन रहने धार्मिक कार्यक्रममा ३ सय भन्दा बढी १६ जिल्लाका भक्तजनहरु आउने ओम सियार जम्बुलिङ बज्र गुम्बाका सल्लाहकार चन्द्र कुमार घिसिङ तामाङले बताए । उनका अनुसार ७ दिने कार्यक्रममा ८ लाख खर्च हुने खर्च विभिन्न दाताबाट संकलन हुने बताएका छन् । कार्यक्रम पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यमा हुने भएको हो ।
दैनिक पाठपुजा गरिने कार्यक्रममा भ्युङने ब्रत(लामा छाम), कृयातन्त्र योगा जप ध्यान साधन( शिल –ग्रहण, कुग्पा–मौन ब्रत, वाङ अविशेक), लामा छाम, राप्ने कार्यक्रम जस्ता कार्यक्रमहरु हुने छ ।
भारतको सिक्किमबाट पाल्नुहुने बौद्ध धर्मका गुरू टुल्कु रिग्देन रिन्पोछेको विशेष आतिथ्यतामा देव अवतरण दिवसको अवसरमा महायान बौद्ध धर्म अन्तर्गत मंसिर –०२ गते शिल ( धर्म अनुसार नियमहरु) , ३ गते शिल (धर्मका नियमहरू लागु) , ४ गते ३ दिने कुम्पा ( मौन ब्रत) , ५ गते ञ्युङने समापन ( ब्रत सम्पन्न) , ६ गते ३६ प्रकारका लामा छाम नाच प्रस्तुत र ७ गते छोर्तेन राप्ने ( नव निर्मित माने÷ छोर्तेन( प्राण प्रतिष्ठाको उद्घाटन), मंसीर ०८ गते धर्म गुरू रिन्पोछेबाट धार्मिक प्रवचन हुर्दै समापन हुने गुम्बाका सल्लाहकार घिसिङले बताए ।
नेपाल तामाङ लामा गेदुनका केन्द्रीय अध्यक्ष धर्मगुरु लामा पाल्दिन योन्जनको समेत उपस्थिति रहने उक्त धार्मिक अनुष्ठान कोशी प्रदेश स्तरीय हुने र वडा नं १ शिखरचोक घर भई हाल सिक्किममा बौद्ध धर्म– संस्कार अध्ययन गरिरहनु भएका नवअवतारी लामा गुरु टुल्कु साङ्गे दोर्जे योञ्जनलाई अभिषेक गरिने आयोजकले जनाएको छ ।