२६ माघ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को योजनाहरु धमाधम संचालनमा रहेको छ । पछिल्लो समयमा गाउँपालिका क्षेत्रको दुई ठुला योजनाहरुको काम सुरु भएको हो ।
सोमबार युवा चोक–दलेली–दोहमाना सडक कालोपत्रे आयोजनाको गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा नं. ३ का वडा अध्यक्ष गोपाल बहादुर कार्की, वडा सदस्य सरस्वती काफ्ले लगायतको उपस्थितिमा शिलान्याससहित कामको सुरुवात गरिएको हो ।
कानेपोखरी गाउँपालिकाभित्र चालिसविगे–घलेटोल हुँदै अशोक फ्युल घर पूर्व रमाइलो जोड्ने सडक कालोपत्रे (वडा नं. ७, ५ र ६) र युवा चोक–दलेली–दोहमाना सडक कालोपत्रे (वडा नं. ३) गरी दुई वटा आयोजना ठेक्कामार्फत काम अघि बढेको छ ।
युवा चोक–दलेली–दोहमाना सडक आयोजनाको ठेक्का सुनवर्षी जे.भी.कानेपोखरीले २ करोड ३८ लाख ७३ हजार ७ सय रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरेको छ । त्सस ठेक्काको निर्माण अवधि २०८३ सालसम्म सम्पन्न गर्नुपर्नेछ । त्यस्तै, २ करोड ५० लाख ५४ हजार ८ सय ९० रुपैयाँमा चालिसविगे–घलेटोल हुँदै अशोक फ्युल घर पूर्व रमाइलो जोड्ने सडक कालोपत्रेको ठेक्का सुजल–विवि जे.भी. इलामले ठेक्का प्राप्त गरेको छ । जसको म्याद २०८२ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने छ ।



