गर्भपतन गराउने औषधी खुवाउदा महिलाको मृत्यु

असार ४, उर्लाबारी । गर्भ रहेकी महिलाई औषधी खुवाएर अवैध तरिकाले गर्भपतन गराउँदा महिलाको मृत्यु भएको छ । मोरङको उर्लाबारी –६ स्थित आश्रय मेडिकल हल (औषधि पसल)ले उपलब्ध गराएको औषधि सेवन गर्दा झापाको दमक –४ ताराबारीकी ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो । इच्छाविपरीत गर्भ रहे पछि गर्भपतनका लागि कल्पना गत जेठ ३२ गते बिहीबार उर्लाबारीको आश्रय मेडिकल हलमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

मेडिकल हलका सञ्चालक ४० वर्षीय सन्तोष घिमिरेले अवैध हिसाबले गर्भपतन गराउन औषधि खुवाएको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार दमक–४ घर भएका घिमिरेले उर्लाबारीमा औषधि पसल सञ्चालन गर्दै आएका थिए । घिमिरेले गर्भवतीलाई कुन औषधि सेवन गराएभन्ने खुल्न बाँकी रहेको डीएसपी दाहालको भनाई छ ।

‘औषधि सेवनपछि रक्तश्राव हुन थालेछ । रक्तश्राव नरोकिएपछि घिमिरेले नै उपचारका लागि उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पु¥याएको पाइयो,’ उनले भने, ‘अस्पताल पु¥याउँदा बिरामीको अवस्था नाजुक भइसकेको रहेछ । चिकित्सकले चेकजाँच गर्दा गर्भभित्रको शिशुको पनि मृत्यु भइसकेको पत्ता लाग्यो ।’ ट्रमा सेन्टरमा कल्पनालाई भर्ना गराउँदा पति युवराज पनि सँगै थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहका अनुसार सुरुमा आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान भनिएको थियो । तर, आर्थिक अवस्था कमजोर रहेको कारण देखाउँदै परिवारका सदस्यले अन्यत्र लैजान नसक्ने बताएपछि ट्रमा सेन्टरमै उपचार सुरु गरिएको उनको भनाइ छ ।

‘अस्पताल भर्ना हुँदा अत्यधिक रक्तश्राव भइरहेको थियो । चेकजाँच गर्दा गर्भभित्रको शिशुको पनि मृत्यु भइसकेको पाइयो,’ डा. साहले भने, ‘रक्तश्राव रोक्न र गर्भभित्रको मृत बच्चा निकाल्न शल्यक्रिया गरियो । तर, रक्तश्राव रोकिएन ।’ शरीरमा ‘हेमोग्लोबिन’को कमी देखिएर बिरामीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएपछि थप उपचारका लागि रेफर गरिएको उनी बताउँछन् ।

परिवारका सदस्यले थप उपचारका लागि कल्पनालाई शनिबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । गम्भीर अवस्थाकी उनलाई तत्काल आईसीयूमा भर्ना गरियो । उपचारकै क्रममा आइतबार बिहान ३ः५० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । चिकित्सकको लापरबाहीले घटना भएको भन्दै परिवार र आफन्तले शव उर्लाबारी लगेर आइतबार दिनभर ट्रमा सेन्टरअगाडि राखेका थिए । लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग उनीहरुको थियो । तर, प्रहरीले अवैध तरिकाले गर्भपतन गराउन मेडिकलले औषधि सेवन गराउँदा महिलाको मृत्यु भएको पत्ता लगाएको हो ।

आमाको ज्यान खतरामा पर्नसक्ने र मानसिक तथा शारीरिक अवस्था खराब हुनसक्ने वा बच्चा सकुशल नहुने, जबरजस्ती एवं हाडनाता करणीबाट गर्भ रहेमा, गर्भवतीलाई निको नहुने रोग लागेमा, जन्मिएर पनि बच्चा बाँच्न सक्ने अवस्था नभएमा वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था आएमा इजाजत प्राप्त चिकित्सकको रायअनुसार २८ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । तर, त्यसमा कानुनले गर्भवती महिलाको मञ्जुरी आवश्यक ठानेको छ ।

जथाभावी औषधि सेवन गराएर गर्भपतन गराउनु गैरकानुनी रहेको प्रहरीको भनाइ छ । ‘मेडिकलले त गर्भपतन गराउनै पाउँदैनन् । सरकारले वैधानिक गर्भपतनका लागि छुट्टै एवं विशेष व्यवस्था गरेको छ,’ प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन्, ‘इजाजत प्राप्त चिकित्सकको रायमा आधिकारिकता प्राप्त स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन गराउनुपर्छ । कानुनले दिएको सुविधाभन्दा बाहिर गएर त्यस्तो काम गर्न पाइँदैन ।’

सम्बन्धित खवर