इटहरी । २०४६ सालमा जनयुद्धको समयलाई लिएर तयार पारिएको नाटक ‘दमनको राप’ सातै प्रदेशमा देखाउने तयारी गरिएको छ । गोपाल देवानले लेखेको नाटक सत्य घटनामा आधारित छ । उक्त नाटक अहिले पुनः ३० बर्षपछि इटहरीमा देखाउन थालिएको छ । इटहरी पछि सातै प्रदेशमा देखाउने योजना रहेको नाटकका निर्देशक बिक्रम श्रीले बताए ।
‘हामी प्रदेश सरकारसँग समन्वय गरेर यहाँका नेतृत्व तहलाई यो नाटक देखाउँछौँ,’ उनी भन्छन्, ‘त्यो बेलाको नेतृत्व अहिले कतातिर गईरहेको छ, त्यो कुरा हामी समावेश गर्दैछौँ ।’ नाटकका मुख्य पात्र राजकुमार कार्की रहेका छन् । कवि तथा पत्रकार समेत रहेका कार्की जनवादी कवि हुन् । उनी कविता लेखेकै कारण १२ पटकसम्म जेल परेका थिए ।
उनी जेलमा हुँदा तानाशाही शाशनका बिरुद्ध लेखिएका दुई दर्जन बढी कविता जलाइदिएको कार्की बताउँछन् । अहिले प्रदर्शनको तयारीमा रहेको नाटक दमनको राप २५ जना कलाकारले प्रस्तुत गरेका थिए । नाटक २ घण्टा २० मिनेट लामो रहेको छ । महानन्द पुरस्कार समेत पाएको उक्त नाटक उत्कृष्ट बन्नेमा निर्देशक श्री विस्वस्त छन् ।
अनलाइनबाट