२३ साउन, मोरङ । शब्द थिएटरको आयोजनामा आगामी साउन ३० गतेदेखि पथरीमा चर्चित नाटक “चरणदास चोर” को मञ्चन हुने भएको छ ।
पथरी शनिश्चरे–२ स्थित हरियाली सामुदायिक वनको सभाहलमा साउन ३० गते प्रिमियर शो गर्ने विहिबार मनोहर र्पाकमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । नाटक साउन ३१ गतेदेखि भदौ १३ गतेसम्म शो को कार्यक्रम तय गरिएको शब्द थिएटरका अध्यक्ष अशोक कुमार साम्पाङले बताए ।
स्थानीय कलाकारहरुद्धारा तयार गरिएको नाटक जीवन बरालले निर्देशन गरेको हो । जीवन बरालको निर्देशनमा शब्द थिएटरले यसअघि “अनि देउराली रुन्छ” चर्चित नाटक प्रस्तुत गरिसकेको छ ।
नाटकको लागि दैनिक तीन वटा समय निर्धारण गरिएको छ । विहान ७ः३० बजेदेखि, दिउँसो ११ बजेदेखि र बेलुका ५ः१३ बजेदेखि नाटक हेर्न सकिने आयोजकले जनाएको छ । हेर्नको लागि टिकट दर ५ सय, ३ सय र विद्यार्थीको लागि १५० तय गरिएको निर्देशक जीवन बरालले बताए ।
शो को लागि भदौ १,२,३, ५, ६, ८,९, ११,१२ र १३ गते विद्यालयका विद्यार्थीहरुको लागि प्रर्दशन गरिने भने साउन ३१, भदौ ७ र १० गते पब्लिक शो गरिने आयोजकले बताए । नाटकमा खर्च ६ लाख हुने आयोजकले जनाएको छ ।
भारतीय लेखक हविव तन्विरद्वारा लिखित नाटक “चरणदास चोर“ लाई रुपान्तरण राजन खतिवडा र आशान्त शर्माले गरेका थिए ।
शब्द थिएटरले आफ्नै ढंगले नेपाली परिवेशमा रूपान्तरण गरी प्रस्तुत गर्न लागेको हो । यसपटक समाजमा व्याप्त भ्रष्टाचार, सत्ता, धर्म, अपराध र मूल्यहीनताको यथार्थ चित्रण गर्ने उद्देश्यले यो नाटक मञ्चन गर्न लागेको बताए ।