समथिङ साहित्यिक राष्ट्रिय पुरस्कारबाट कवि माङलाक र ओझा पुरस्कृत हुने

पाँचथर । पाँचथर आङ्नाका कवि राज माङलाक समथिङ साहित्यिक राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने भएको छ । कवि माङलाकलाई ५० हजार ५ सय ८० रुपैंयाँको राशीले पहिलोपटक पुरस्कृत हुने भएको हो ।

त्यसैगरी पाँचथर सुभाङकी स्रष्टा बिद्या निर्दोषी ओझा पनि समथिङ साहित्यिक राष्ट्रिय सम्मानबाट सम्मानित हुने भएकी छिन् । उनीलाई ५ हजार ५ सय ८० रुपैंयाँ राशीले सम्मान गरिने समथिङ फाउण्डेशन नेपालले जनाएको छ ।

 

समथिङ फाउन्डेशन नेपालले पाँचथरको फेदेनमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सोको जानकारी गरेको थियो । फाउण्डेसनले प्रत्येक दुई–दुई बर्षमा उक्त पुरस्कार र सम्मान प्रदान गर्ने समथिङ फाउन्डेशन नेपाल पाँचथरका अध्यक्ष मंगल बेघाले बताए । उक्त पुरस्कार र सम्मान माघ २९ गते फेदेनमा एक समारोहका बिच वितरण गरिने फाउण्डेशनले बताएको छ ।

समथिङ राष्ट्रिय साहित्यिक पुरस्कारबाट पुरस्कृत हुने कवि माङलाकको धुँवाका धुनहरु, ताङ्का संग्रह र लिम्बुनी गाउँ कविता संग्रह प्रकाशित गरिसकेका छन् । पुरस्कार र सम्मान दुबैको समथिङ फाउन्डेशनका संरक्षक रामप्रकाश समथिङले स्थापना गरेका हुन् ।

सम्बन्धित खवर