असोज २८ गते, पथरी । कला साहित्यको क्षेत्रमा प्रदेश १ मा सक्रिय मोरङको पथरीशनिश्चरेमा ०७६ को एसइइ परीक्षामा सामेलहरुका लागि सम्पन्न प्रदेश १ स्तरीय अनलाइन चित्रकला प्रतियोगितामा पुरस्कृतहरुलाई आज पुरस्कार वितरण गरिएको छ ।
पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुरस्कार वितरण सम्पन्न भयो । ‘लकडाउनमा भइरहेका सकारात्मक पक्ष र कामहरु’ शिर्षकमा चित्र तयार गर्न तोकिएको थियो ।
जसबाट प्रथम, द्वितीय, र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने कला साहित्य प्रवद्र्धन समितिकी कोषाध्यक्ष, एभरेष्ट आर्ट फ्यूजनकी संस्थापक अध्यक्ष प्राज्ञ सरोजा खड्गीले बताए । कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष वीरध्वज शिवा, अग्रज चित्रकार पवन राजवंशी सहितले पुरस्कार वितरण गरेका थिए ।
नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजना र एभरेष्ट आर्ट फ्यूजनको सहयोगमा कोरोना भाइरसका कारण जारी बन्दाबन्दी (लकडाउन) को सदुपयोग गर्दै आयोजित प्रतियोगितामा पथरीशनिश्चरे ५ स्थित सुगाहाट माविकी पथरीशनिश्चरे ५ की सन्ध्या मगर प्रथम हुनु भएको थियो ।
पब्लिक हाइस्कुल धरानका रुपक राई द्वितीय र पथरीशनिश्चरे १ को सुनाखरी माविकी इक्सा केरुङ तृतीय हुन पुगेका थिए । तीन जना बाहेक उत्कृष्ठ बनेका पथरीशनिश्चरेका सन्देश राई, विर्तामोडकी प्रकृति राजवंशी, विराटनगरका सुवास राउत र पथरीशनिश्चरकी अञ्जना राईमध्येबाट २ जनालाई स्थानीय पञ्चायत माविमा सञ्चालन हुने फाइन आर्ट कलेजमा अध्ययनका लागि ५० प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् ।