लैङ्गिक हिंसा अन्तर्गत कचहरी नाटक ‘दोषी को ?’ प्रदर्शन

मंसिर २० गते, पथरी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मोरङको पथरीशनिश्चरेस्थित हसन्दह चोकमा कचहरी नाटक ‘दोषी को ?’ प्रदर्शन भएको छ ।

लैङ्गिक हिंसा अन्तर्गत पनि सार्वजनिक यातायात, सार्वजनिकस्थल, सामाजिक सञ्जालमा हुने गरेको महिला हिंसालाई नाटकले केन्द्रीत बनाएको छ । त्यसका अलावा शिक्षण संस्थाहरुमा पनि नजानिदो गरी छात्राहरुमाथि हिंसा हुने गरेको कुरा पनि नाटकले प्रस्तुत गरेको थियो ।

कार्यक्रममा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नाटकले लैङ्गिक हिंसा अन्तर्गत महिला नै बढी हिंसाको सिकार भएको दर्शाउँदै महिला हिंसा अन्त्य गर्न पुरुषको सचेतता आवश्यक रहेको बताए । कार्यक्रममा ओरेक नेपाल विराटनगर कार्यक्रम अधिकृत गोमा भण्डारी, महिला फेडेरेशन नगर उपाध्यक्ष निर्मला राई, सचिव जानुका आचार्य सहितले लैङ्गिक हिंसा अन्त्यका लागि समाज सचेत र अग्रसर बन्नु पर्ने बताए ।

पथरीशनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा नगरस्थित महिला फेडेरेशनले आयोजना गरेको कार्यक्रममा शब्द थिएटरका कलाकारहरुको प्रस्तुति रहेको थियो । नाटकमा विद्यालय विद्यार्थी सहितका दर्शकहरुले आफुहरुलाई सक्रिय सहभागिता जनाई हिंसा अन्त्य गर्ने बारेमा कचहरी गरेका थिए ।

भूपेन्द्रराज तिम्सिनाको लेखन, जीवन बरालको निर्देशनमा प्रस्तुत नाटकमा तिम्सिना, बरालका साथै सुमन कुइकेल बराल, मेनुका कुलुङ, लीला कुलुङ, इश्वर दुलाल, विमला पोखरेल, प्रेम खतिवडा र नविन गुरुङको अभिनय रहेको छ । अभियान अन्तर्गत सो नाटक हिजो शनिश्चरेमा प्रदर्शन भएको थियो । मंसिर २२ गते २ नम्बर वडा कार्यालयको उद्घाटन कार्यक्रममा र मंसिर २३ गते पथरीको यलम्बर चोकमा सो नाटक प्रदर्शन हुनेछ ।

सम्बन्धित खवर