फागुन २५ गते, पथरी । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सूचकमा पथरीशनिश्चरे नगरपालिकाको अवस्था सन्तोषजनक रहेको पाइएको छ ।
स्थानीय तहको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नगरपालिका कार्यालयमै राखेको कार्यशालामा त्यस्तो अवस्था रहेको तथ्य प्राप्त भएको हो । सरकारले तय गरेको विभिन्न सूचकका आधारमा स्वमूल्याङ्कनको विधि अनुरुपको परीक्षणमा नगरले सन्तोषजनक अंक प्राप्त गरेको प्रादेशिक प्रशिक्षण केन्द्रका प्रशिक्षक एवम् कार्यक्रम सहजकर्ता मीना विष्टले जनाइन ।
कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उपसचिव शालिग्राम काफ्ले, लेखा प्रमुख पिताम्बर वस्ती सहित वडाध्यक्ष, शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।