समुदायमा कोरोना भेटिएपछि पथरीमा अनिश्चितकालिन शिल

भदौ ६ गते, पथरी । समुदायस्तरमै कोरोना भाइरस संक्रमित भेटिएपछि मोरङको पथरीशनिश्चरे नगरमा शनिबारदेखि नगर क्षेत्र अनिश्चितकालका लागि बन्द गर्दै शिल गरिएको छ ।

सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका नगरका १ जना २३ वर्षीय पुरुषमा हिजो कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा कोरोना भाइरस फैलिएको हुनसक्ने बुझेर आज विहान १० बजेबाट शिल गरेको हो ।

अर्काे सूचना नभएसम्मका लागि पूर्ण बन्द गरी नगर क्षेत्रबाट कोही अन्यत्र जान र अन्यत्रबाट नगर प्रवेश गर्न रोक्ने गरी शिल गरिएको छ । नगरले स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा अनुरोध गर्दै अस्पताल र औषधि पसल बाहेक सबै सेवा बन्द गरेको हो ।

नगरप्रमुख दिलिपकुमार राईले सम्र्पूण खाले पसल, ब्यवसाय, कार्यालय, वित्तिय संस्था, यातायात संचालन सहित हिडडुलमा पूर्ण प्रतिबन्ध गरिएको बताए । नगरको सो आव्हानलाई पूर्ण रुपमा पालना गरी कोरोना भाइरसबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन नगरवासीमा प्रमुख राईले आग्रह गरेका छन् ।

नगर उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति सदस्य यमुना विष्ट वास्तोलाको अगुवाईमा समिति सदस्य एवम् पथरी उद्योग वाणिज्य संघ अध्यक्ष दीपक बस्नेत, १ नम्वर बडाध्यक्ष बाबुराम एङ्देन सहित इलाका प्रहरी, नगर प्रहरीमार्फत अटेर गर्ने पसल वन्द गराउँदै सवैलाई घर बस्न अनुरोध गरिएको छ ।

नगरमा हालसम्म १ जना भारतीय सहित ८ जनामा कोरोना भाइरस देखिएको छ । जसमध्ये ६ जना निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित खवर