कोरोना संक्रमण बढेपछि पथरीशनिश्चरे नगरमा कार्तिक ६ गते सम्म नगर र वडा बन्द

असोज २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी सहितका नगरका कर्मचारीमा समेत कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिका र वडा कार्यालयहरु कार्तिक ६ गतेसम्मका लागि बन्द गरिने भएको छ ।

कोरोना भाइरस जोखिम न्यूनीकरण नगरस्तरीय समन्वय समिति र पथरीशनिश्चरे नगर कार्यपालिकाको आजको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो ।

नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्बर वडाको शहरी स्वास्थ्य केन्द्रको सेवा समेत अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको नगरका प्रवक्त यामप्रसाद गुरागाईले बताए । कार्यालयको अत्यावश्यक सेवा र स्वास्थ्य संस्थाबाट दैनिक औषधि सेवन गर्नेका लागि औषधि वितरणको प्रबन्ध गरिने छ ।

समन्वय समिति संयोजक एवम नगर प्रमुख दिलीपकुमार राइको अध्यक्षतामा बैठक बसेको थियोे । बैठकमा अध्यक्ष राइले कोरोना सन्क्रमितहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरवासीलाइ अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गर्नु भएको छ ।

वडाध्यक्ष सहितका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारी तथा समुदायका समेत गरि आज ८ जनामा कोरोना देखिए पछि आकस्मिक बैठक बसेर अनिवार्यरुपमा भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुन पानीले हात धुन र सेनिटाइजर लगाउन अनुरोध गरिएको हो ।

१२ बर्ष मुनीका बालबालिका र ज्येष्ठहरुलाई थप सतर्क बन्न समेत अनुरोध छ । स्वास्थ्य सतर्कताको सूचना प्रवाह गर्न भोलि बिहान माइकिङ गरिने भएको छ । हिजोमात्र नगरका कर्मचारी सहित ९ जनामा कोरोना भाइरस देखिएको थियो ।

हालसम्म जनप्रतिनिधि, स्वास्थ्य सहितका नगरका कर्मचारी र समुदायका गरि ४३ जना, क्वारेन्टिनमा रहेका १६ जना र बाहिरबाट संक्रमीत भएका समेत नगरका कुल ७२ जनामा कोरोना देखिएको छ ।

सम्बन्धित खवर