माघ १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालय र मिथिला पब्लिक हेल्थ सर्भिसेज सप्तरीको संयुक्त आयोजनामा ‘प्रतिजैविक प्रतिरोध सम्बन्धी सचेतना तथा पैरबी कार्यक्रम’ सम्पन्न भएको छ ।
विहिबार स्वास्थ्य शाखाले वडाध्यक्ष, पशुपंक्षी, कृषि शाखाका कर्मचारी, नगर अन्तर्गत स्वास्थ्य संस्था, नीजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई सम्मिलित गराएर राखेको कार्यक्रममा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग हुँदा मानव मात्र नभएर पशुप्राणीको स्वास्थ्यमा समेत असर पर्ने जानकारी गराइएको छ ।
कार्यक्रममा मिथिला पब्लिक हेल्थ सर्भिसेजका लक्ष्मीनारायण देव र रश्मि देवले एन्टिबायोटिक औषधिले काम गर्न नसक्ने अवस्था प्रतिजैविक अवरोध भएको उल्लेख गर्दै एन्टिबायोटिकले प्राणी मात्र नभएर पर्यावरणीय रुपमा समेत असर पर्ने भएकाले यसको जतिसक्दो कम प्रयोग गर्नतर्फ लाग्नु पर्ने बताए ।
नगरको सामाजिक विकास समितिका संयोजक कपिलमणि ढकालको अध्यक्षता र नगर प्रमुख दिलीपकुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।