जेठ १७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा कोरोना संक्रमणको जोखिम यथावत नै रहेकाले अर्काे सूचना नभएसम्मका लागि यस अघि झैं औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत वन्द गर्ने निर्णय भएको छ ।
नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको सोमबारको बैठकले अघिल्लो बैठकले गरेको निर्णयलाई निरन्तरता दिँदै अर्काे सूचना नभएसम्मका लागि औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत वन्द गर्ने निर्णय गरेको हो ।
नगर उपप्रमुख एवम् समन्वय समिति सहसंयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षताको बैठकले कोरोना संक्रमितनगरवासीमा सीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
बैठकले, जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिले जेठ १७ गते राती १२ बजेदेखि जेठ २४ गते राती १२ बजेसम्मका लागि थप गरेको निषेधाज्ञा आदेश पालना गर्न प्रचार प्रसार गर्दै अनुगमन् गर्ने र त्यसको उल्लंघन गरेको पाइएमा प्रहरी प्रशासनबाट आवश्यक कारबाही समेत गरिने पनि निर्णय गरेको छ ।
निर्माण सामग्री बोक्ने मालबाहक यातायात साधनमा चालक बाहेक बढीमा २ जना सहयोगी मात्र रहने समेत यस अघिको बैठकले निर्णय गरेको थियो ।
वडा वडामा निषेधआज्ञाको अनुगमन् गर्न प्रहरी प्रशासन सहितको संयन्त्रको सक्रियतालाई निरन्तरता दिने समेत निर्णय गरिएको छ ।