असार १३ गते, पथरी । दुई दशक अघिदेखि पथरीशनिश्चरेमा रहेर निरन्तर पत्रकारिता गर्दै आएका अर्जुन जम्नेली राईसहित दुई जना पत्रकार र एक सञ्चार संस्थालाई पथरीशनिश्चरे नगरपालिकाले सम्मान तथा पुरस्कारकृत गरेको छ ।
नगरपालिकाले अर्जुन जम्नेली राईलाई ‘अग्रज पत्रकार सम्मान–२०७८’, उत्कृष्ट पत्रकारको रुपमा कुमार खड्का र सञ्चार संस्थाको रुपमा कुरकुरे डटकम साप्ताहिक सञ्चालक मोहन भट्टराई लाई पुरस्कृत गरेको हो ।
शुक्रबार नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा नगरपालिकाले बार्षिक रुपमा अग्रज पत्रकार सम्मान तथा एक जनालाई उत्कृष्ट पत्रकार र सञ्चार माध्यमलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट (बास्तोला) र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको हातबाट पत्रकार अर्जुन जम्नेली राईलाई राईकै मुहारचित्र (मुहारको पेन्टिङ नक्सा), सम्मानपत्र र दोसल्ला ओढाएर नगरको अग्रज पत्रकार सम्मान दिएको हो ।
सम्मानित राई २०५८ सालबाट पथरीबाट प्रकाशित मोफसल साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका हुन । बिभिन्न कालखण्डमा धरान टाइम्स, ब्लाष्ट टाइम्स, औजारहुदै गोरखापत्र दैनिक, मकालु टेलिभिजन, झापाको पाथिभारा र विराटनगरको बीएफमा काम गरेका थिए । रातोकलम अनलाइनको प्रवन्ध सम्पादक रहेका राई ब्लाष्ट टाइम्स, कान्तिपुर दैनिक लगायतका मिडियाहरुमा लेख तथा खोजमुलक समाचारहरु लेख्दै आएका छन् ।
पथरीशनिश्चरे नगरपालिकाले संस्थाको तर्फबाट पुरस्कृत कुरकुरे डटकम साप्ताहिक सञ्चालक मोहन भट्टराई र प्राइम टेलिभिजनका मोरङ समाचारदाता कुमार खड्कालाई क्रमस २५ र १५ हजार नगद तथा कदर पत्रले पुरस्कृत गरेको हो । कुरकुरे डटकम साप्ताहिक बिगत नौ बर्षदेखि निरन्तर रुपमा प्रकाशनहुँदै आएको पत्रिका हो भने कुमार खड्का उदियमान युवा पत्रकार हुन ।
गत बर्ष अनमोलमणी साप्ताहिक पत्रिकाका संचालक सन्तोष राई र ब्लाष्ट टाइम्स दैनिक पत्रिकाका पथरी समाचार दाता दिनेश सुब्बालाई नगदसहित पुरस्कृत गरेको थियो । अग्रज पत्रकार सम्मान भने यसै बर्षदेखि नगदसहित प्रदान गर्न थालिएको हो ।
सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला, प्रमुख प्रशाकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगरको प्रवक्ता समेत रहेका २ नम्बर वडा अध्यक्ष यमप्रसाद गुरागाई, १ नम्बर वडा अध्यक्ष बाबुराम एङ्देन लिम्बू, ४ नम्बर अध्यक्ष गोबिन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य भद्रमान बिकले सम्मानित तथा पुरस्कृत पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा ३ नम्बरका वडा अध्यक्ष डम्बर चेम्जोङ, ७ नम्बरका कपिलमणी ढकाल लगायतको उपस्थिति रहेको थियो ।
पथरी शनिश्चरे नगरपालिकाले सञ्चार क्षेत्रको विकासको लागि २०७५ सालमा सूचना तथा सञ्चार कार्यविधि ल्याएर पत्रकारलाई सम्मान, पुरस्कार र नगरमा स्थापित मिडिया हाउसहरुलाई बार्षिक रुपमा प्रोत्साहन स्वरुप रकम प्रदान गर्दै आएको हो ।
नगरपालिकाले पथरी शनिश्चरे नगरलाई मुख्य कार्यक्षेत्र बनाएर काम गर्दै आएका नेपाल पत्रकार महासंघको सदस्यहरुलाई बार्षिक रुपमा लेखन वृति (फेलोसिप) प्रदान गर्दै आएको छ । यो बर्ष ब्लाष्ट टाइम्स दैनिकको पथरी समाचार दाता दिनेश सुब्बा, सिम्रिक एफ.एम.की एलिना दियाली, सम्मानित राई र पुरस्कृत खड्कालाई लेखन वृति दिएको नगरपालिकाको सूचना संयोजक भूपेन्द्र तिम्सिनाले बताए ।
एफएम रेडियोलाई ४२, साप्ताहिक पत्रिकालाई ३६ र अनलाइनलाई ३० हजारको दरको बार्षिक रुपमा रकम उपलब्ध गर्दै आएको छ ।