असार २३ गते, पथरी । आर्थिक वर्षको समापनसँगै मोरङको पथरीशनिश्चरे नगरले एकै दिन १ दर्जन भन्दा बढी योजनाहरुको अनुगमन् गरेको छ ।
नगर उपप्रमुख एवम योजना अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा प्राविधिक सहितको टोलीले वडाको १० लाखको बजेटमा निर्माण भएको वडा नम्बर २ र ७ जोड्ने राजन आचार्यको घर छेउको बक्स कल्भर्टको अनुगमन् गरेको छ ।
त्यस्तै, वडा नम्बर ५ को हसन्दह चोकमा नगरको ९ लाखको बजेटमा ड्रेन निर्माण, स्वास्थ्य चौकी पूर्वको सडकमा नगरको ११ लाखको बजेटमा बक्स कल्भर्ट तथा हसन्दह हाटको टहरा निर्माण कार्यको पनि अनुगमन भएको छ ।
२ नम्बरको लाटी होलीमा १५ लाख ८६ हजार ८४ रुपैयाँ बजेटमा बक्स कल्भर्ट, सडक बोर्डको ५ लाखको बजेटमा २ नम्बरको चौतारी सामुदायिक वन क्षेत्रबाट पूर्वपश्चिम लोकमार्गमा जोड्ने नयाँ बाटोमा ग्राभेल कार्य सम्पन्न भएको योजना सहितका योजनाहरुको पनि अनुगमन् गरिएको हो ।