घरघरमा सुन र मोबाइल चोरी गर्ने तीन जना पक्राउ

असोज १४ गते, पथरी । चाड सुरु हुनलाग्दा मोरङको पथरीशनिश्चरे र कानेपोखरीको बिभिन्न स्थानमा चोरीको घट्ना बढेको छ ।
चाड सुरु हुनलाग्दा बिभिन्न स्थानमा सुनको गहना, मोबाइल, नगद तथा लुगा कपडा चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

कानेपोखरी—४ को बिनोद सुब्बाको घरबाट मोबाइल (रेड मी) र पेन्टको गोजीमा रहेको ६ सय नगद चोरी गरेको आरोपमा पथरीशनिश्चरे ८ सुक्रबारेका बिनोद राई, केशव बिक, बिजय माझी प्रहरी नियन्त्रणमा परेका छन् ।
उनीहरुले १० गते आइतबार राति मोबाइल र पैसा चोरी गरेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरु २३ देखि २८ बर्ष उमेर समूहका छन् ।

कानेपोखरी ४ कै ७१ बर्बिया दिब्यकुमारी ढुङ्गानाले लगाएको कानको मारबाडी चोरले लुछेर लगेको पीडित परिवारले जनाएको छ । सोही घरका लक्ष्मी ढुङ्गानाले बोक्ने सामसङ मोवाइल पनि लगेको थियो । राति सुतेको अवस्थामा चार आना बराबरको मारबाडी चोरले लुछेर लगेको हो । घट्ना भदौ २५ गते रातिको हो । त्यसको दुई दिनपछि २७ गते राति सूर्यमाया लिम्बुको घरबाट सुनको दुई वटा औठी, तिलरी, जग्गा धनिपुर्जा र नागरिकता चोरी भएको थियो । चोरले गहना लगायतको सामाग्री राखेको बाकसै बोकेर लगेको ढुङ्गानाले बताए । बाकस डाँसखोला छेउमा लगेर फोरिएको अवस्थामा फेला परेको थियो । यो सबै घट्नामा पक्राउ परेका ब्यक्तिहरुको समूह हुन सक्ने पीडितहरुको भनाइ छ । यता पथरीशनिश्चरे १ को सुनाखरी चोक स्थित पर्शुराम राईको घर फोरेर गहना तथा लगाउने कपडा चोरी भएको छ । घट्ना १० गते रातिको हो ।

घरमा कोही नभएको बेला दुई वटा कोठा फोरेर राई समुदायको सांस्कृतिक चाडमा लगाउने पैसा र चाँदीको दुई थान हारी, भेटी (सिक्का पैसा)करिव एक किलो, दुई थान साडिचोला चोरी भएको स्थानीय कर्ण राईले बताए । चोरी गर्नेले लाइटर छाडेको र त्यही लाइटरको आधारमा चोर पत्ता लागेको राईले बताए ।

सामान २० बर्षिय अजय सुब्बाले खोला छेउमा लुकाएको अवस्थामा फेला परेको बताइएको छ । सुब्बा प्रहरी नियन्त्रणमा रहेका छन् । पक्राउ परेका सबैलाई चोरी सम्बन्धी मुद्धा दर्ता भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताए ।

सम्बन्धित खवर