युवराज लिम्बु
भदौ १ गते, कानेपोखरी । कोरोना भाइरस संक्रमण समुदायमा फैलिए पछि कानेपोखरी गाउँपालिकाले त्यसको रोकथाम र नियन्त्रणका लागि कडाई गरेपछि सुनसान भएको छ ।
सोमबार गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको नेतृत्वमा जनसेवा क्वारेन्टाइनका संयोजक तथा वडाध्यक्ष खड्ग बस्नेत, नेकपा कानेपोखरी गाउँअध्यक्ष भोला अधिकारी र नेपाली कांग्रेस कानेपोखरी गाउँसभापती योगेन्द्र दाहाल लगायतले लकडाउनको अनुगमन गरेका थिए ।
टोलीले वडा नं. ५, जहदा, भौसाबारी, कानेपोखरी चोक, वडा नं. ७ को आइतबारे चोक, बरगाँछी चोक, रमाइलो बजार, वडा नंं. ४ को धमकुवा, बयरवन बजार, वडा नं. २ को कालिस्थान चोक, नहर चोक, दलेली बजार, वडा नं. ३ को तल्लो हरकपुर र जयनेपाल चोक लगाएतका स्थानमा अनुगमन गरेका थिए । अनुगमनमा सवै बजार, बस्ती, चोक सुनसान नै थियो । अहिले पालिका भन्दा बाहिरको व्यक्तिहरु कानेपोखरी गाउँपालिकामा प्रवेश निषेध गरेका छन् ।
गाउँपालिकाको सूचना अनुसार पालिका भित्र लकडाउनको पालाना सबैले गरेको अनुगमनमा देखिएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । उनले कानेपोखरीमा कोरोना भाइरस समुदायमा संक्रमण फैलिएकोले लकडाउन भरी सवैले आआफ्नो घरमै बसेर भाइरसको रोकथाम र नियन्त्रणमा सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
पालिकाको दक्षिणमा वडा नं. २ को दलेली बजारको नाकामा रमाइलो प्रहरी चौकी, नगरप्रहरीले पालिका भित्र आवगमनमा कडाई गरिरहेको र उत्तर क्षेत्रको कानेपोखरी चोकमा वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी सहित स्थानीय युवा र कानेपोखरी प्रहरी चौकीले दैनिक आवगमनमा निषेध गर्दै आएको छ ।
गाउँपालिकाले आइतबार राती १२ बजेदेखि भदौ ७ गते राती १२ बजे सम्म लकडाउन थपको सूचना गरेपछि लकडाउन कडा पारिएको हो । पालिकाले खाद्य मल, भेटनगरी, औषधी पसलहरु, दुधजन्य पदार्थ र विपत व्यवस्थापन कार्य बाहेक अरु सवै बन्द रहने निर्णय गरेको थियो ।
गत शुक्रबार नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रमा कार्यरत कानेपोखरी–३ नम्बर वडाका एकजना पुरुषमा कोरोना पृष्टी भएपछि वडाकार्यालयले वडा सिल गरेको छ ।