महानगरलाई सफा र व्यवस्थित बनाउन सामूहिक प्रतिबद्धता

माघ ५ गते, विराटनगर । प्रदेश राजधानी विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन मोरङका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

विराटनगर महानगरपालिकाको विशेष पहलमा बिहीबार भएको विशेष बैठकमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयको नियमित बैठकलाई महानगरकै आग्रहमा पहिलोपटक प्रशासन कार्यालयभन्दा बाहिर राखिएको प्रजिअ दाहालले जानकारी दिए । विराटनगर राजनैतिक, आर्थिक नगर मात्रै नभएर प्रदेशको राजधानी भएकाले सफा, सुन्दर र व्यवस्थित बनाउन आफू र अन्य कार्यालयहरूको तर्फबाट प्रजिअ दाहालले प्रतिबद्धता जनाए ।

महानगरका मेयर नागेश कोइरालाले विराटनगरका सबै सरकारी कार्यालय अगाडि सफा राख्न, वृक्षारोपण गर्न र रंग उडेर कुरुप बनेका भवनमा रंग लगाउन आग्रह गरे । मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउन आफूले अभियानकै रुपमा अगाडि सारेको बताए ।

उपमेयर शिल्पा निराला कार्कीले पनि विराटनगरलाई सफा र सुन्दर बनाउने महानगरको अभियानमा साथ दिन आग्रह गरिन् । सबै क्षेत्रको सहकार्य र समन्वयले मात्रै विराटनगर सफा र व्यवस्थित हुने उनको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बैठकको उद्देश्यमाथि प्रकाश पार्दै सफाईसँगै राजस्व अभिवृद्धिका लागि महानगर निर्मम रुपमा प्रस्तुत भइरहेको बताए । कोइरालाले नक्सा पास नगरेका भवन र पर्खालको नक्सा पास गराउन आग्रह गरे । विराटनगर–३ का वडाध्यक्षसमेत रहेका महानगरको वातावरण तथा सरसफाई समितिका संयोजक वासुबहादुर बस्नेतले विगतमा भन्दा सरसफाईमा सुधार आएको चर्चा गरे । त्यस्तै राजस्व संंकलन अभियानका बारेमा राजस्व महाशाखा प्रमुख सरोज गौतमले प्रकाश पारे ।

बैठकमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डीवी क्षेत्री, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख टंक गौतमसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले विराटनगरलाई व्यवस्थित बनाउने महानगरको अभियानमा सधैं साथ रहने प्रतिबद्धता जनाएका थिए । बैठकमा एक सयभन्दा बढी विभिन्न सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खवर