दमक र पथरीको शरणार्थी शिविरमा स्वास्थ्य सेवा केन्द्र शिलान्यास

भदौ ८, पथरी । झापाको दमक स्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा विहिबार आधारभूत स्वास्थ्य सेवा केन्द्र शिलान्यास गरिएको छ ।

पथरीशनिश्चरे शिविरमा साँझको समयमा इन्ट्रा अध्यक्ष अधिकारी, पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले सँयुक्तरुपमा पुजा गर्दै जमिन खनेर शिलान्यास गरेका थिए । सोहि दिन दिउँसो दमकको बेलडाँगीमा इन्ट्रा अध्यक्ष अधिकारी र दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले सँयुक्तरुपमा शिलान्यास गरेका थिए ।

शिलान्यास गरिएको स्वास्थ्य सेवा केन्द्र दमक नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाको समन्वयनमा इन्ट्राले लगानी गरेको हो । शिलान्यास गरिएको उक्त स्वस्थ्य सेवा केन्द्रबाट शरणार्थी शिविर भन्दा बाहिरका गाउँबासिले पनि स्वास्थ्य सुविधा लिन सक्ने बताईएको छ ।

पथरीशनिश्चरे शिविरमा ५ सय घर लगभग १५ सय जनसंख्या रहेको छ । यी दुईवटा शिविरमा अझै करिब ६ हजारको हाराहारीमा भुटानी शरणार्थीहरु बसोबास गरिरहेका छन् । शरणार्थीहरुको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले करिव ३० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको हो ।

कार्यक्रममा नेपाल च्याप्टर अध्यक्ष तथा अभिनेता दिलिप रायमाझी, फाउन्डेसनका प्रवन्ध निर्देशक रुद्र बानियाँ, भ्वाइस अफ नेपाल बिजेता किरण गजमेर, कलाकार शंकर बिसि, गायक डम्बर नेपाली, लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर