पुस २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्बर–२ मा स्तरोन्नतीतर्फ एडभान्स सिलाई कटाई सम्बन्धी १ महिने तालिम सम्पन्न भएको छ ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिम सम्पन्न भएको हो । नगरको लेखा शाखा प्रमुख पिताम्बर वस्तीले कुनै पनि तालिमले प्रशिक्षार्थीका लागि पूर्ण रुपमा सीप प्रदान गर्न सक्नु पर्नेमा जोड दिँदै नगरको सो तालिमले त्यस्तो वातावरण वनाएको विश्वास व्यक्त गरे ।
कार्यपालिका सदस्य अरुणा राई र नगरको लघु उद्यम शाखा प्रमुख हेमचन्द्र दहालले तालिममा सहभागि मिलेर गार्मेन्ट उद्योग नै स्थापना गर्ने उत्साहलाई नगरले सहयोग पुर्याउने वताए ।
तालिममा २२ जनाको सहभागिता रहेको छ । उनीहरुका लागि अघिल्लो तालिममा नगरपालिकाले कपडा सिलाउने जनही मेसिन प्रदान गरेको थियो । तालिममा सीता रायामाझीले सहजिकरण गरेका थिए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत वर्षबाट नगरमा यसखाले कार्यक्रम अघि बढेको हो ।