२१ पुस, बेलबारी । मोरङको सुन्दरहरैंचा –७ स्थित गछिया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न रहेको जेसीभीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी रहेको अवस्थामा गछिया निर्माण सेवाको को १ क २३९२ नम्बरको जेसीभीलाई सशस्त्र प्रहरी बल नेपाल मद्द्ती तथा सेवा गुल्म सलकपुरको नेतृत्वले बुधबार बिहान नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको उक्त जेसीभीलाई कार्वाहीको लागि सुन्दरहरैंचा नगरपालिकाको कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल मद्द्ती तथा सेवा गुल्म सलकपुरका सशस्त्र प्रहरी निरिक्षक जीवन बस्नेतले बताए । उनका अनुसार गछिया खोलाको किनारमा खोलाबाट उत्खनन् गरि निकालिएको ढुंगा गिट्टी ओसारपसारमा संलग्न रहेको जेसीभीलाई नियन्त्रणमा लिएको हो ।
सुन्दरहरैंचा नगरपालिकाको राजस्व शाखाले कार्वाहीको लागि उक्त फर्मलाई जरिवाना तोकेको जनाएको छ । उक्त जेसीभीलाई कार्वाहीको लागी एक लाख जरिवाना तोकिएको राजस्व शाखाले जनाएको छ । हाल सुन्दरहरैंचा नगरपालिकामा खोला उत्खनन् गर्न नगरपालिकाले बन्द गरेको छ ।
स्रोतका अनुसार जेसीभी प्रयोग भएको क्षेत्रमा नगरपालिकाले कुनै पनि स्टक प्रमाणित गरेको छैन । अवैध तरिकाले खोला उत्खनन् गरि खोला जन्य सामाग्रीहरु स्टक गरिएको हुन सक्ने स्रोतले जनाएको छ ।