टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि उर्लाबारी तनावग्रस्त

तस्विर :सरोज बस्नेत

१७ असार, उर्लाबरी । मोरङको उर्लाबारीको इकाप्रहरी कार्यालयमा तनावग्रस्त बनेको छ । तीव्र गतिमा रहेको टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि सोमबार साँझबाट तनावग्रस्त बनेको हो ।

उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी नगरपालिका–६ सिलौलीमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएको थियो । मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई साँझ ६ः५० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

घटनापछि आक्रोसित भएर प्रदर्शनमा उत्रिएका स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ढुंगामुडा गरिरहेका छन । स्थानीयको प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गमा सवारी आवागमन बन्द भएको थियो । यातायात अवरुद्ध पारेर नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाहरूले उर्लाबारी चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । टायर बालेर प्रदर्शन बेला प्रहरी कार्यालयमा ढुंगामुडा गरिरहेका हुन ।

प्रहरीका अनुसार दुर्घटनामा परेर स्कुटर चालक उर्लाबारी–६ की अन्दाजी २७ वर्षीया सीता बोहोराको मृत्यु भएको हो । गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा साँझ ७ः३० बजेतिर मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिए । घरबाट सब्जी लिन निस्किएका बेला उनलाई टिपरले ठक्कर दिएको बताइएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मृतकका छोरा अन्दाजी ९ वर्षीय प्रशान्त बोहोरा घाइते भएका छन् । सुरुमा उपचारका लागि अरनिको अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरको न्युरो अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते बालकको अवस्था मध्यम छ ।

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ४२ वर्षीय लालबहादुर लिम्बुलाई नियन्त्रणमा लिएको छ । चालकको लापरबाही र टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी बस्नेतले बताए ।

सम्बन्धित खवर