२५ वैशाख, विराटनगर । नेपाल लाइफ इन्सुरेन्स कम्पनीका विराटनगर शाखा प्रमुख सन्तोष अधिकारी बीमा रकम हिनामिना गरी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
मोरङको केरावारी गाउँपालिका ९ निवासी ३७ वर्षीय नईन्द्र विश्वकर्मा वैदेशिक रोजगारीका लागि २०८० मा बहराइन गएका थिए । गम्भीर मृगौला रोगका कारण २०८१ मा नेपाल फर्किएका उनको उपचारकै क्रममा निधन भएको थियो ।
ृतकको श्रीमती भीमकुमारी विश्वकर्माले आफूले पाउनुपर्ने बीमा रकम १३ लाख रुपैयाँ दाबी गर्न नेपाल लाइफ इन्सुरेन्सको विराटनगर शाखामा सम्पर्क गरेकी थिइन । शाखा प्रमुख अधिकारीले बीमा प्रक्रियाबारे अज्ञान भएकी भीमकुमारीलाई झुक्याएर विभिन्न कागजातमा सहीछाप गराई, ग्लोबल आइएमई बैंकमा एकल तथा संयुक्त खाता खोल्न लगाएर चेकबुकहरू आफूसँग राखेको अनुसन्धानबाट खुलेको छ ।
भीमकुमारीले बीमा रकम भुक्तानीको क्रममा जम्मा ५ लाख ७६ हजार रुपैयाँ मात्र प्राप्त हुने जानकारी पाइन, तब उनले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएकी थिइन ।
अनुसन्धानमा अधिकारीले भीमकुमारीको नाममा १५ वर्षे अवधिको बीमा गराई वार्षिक ७० हजार रुपैयाँ तिर्ने व्यवस्था गरेको फेला परेको छ । साथै, मृतकका नाति प्रतिक विश्वकर्मा र पहिलो श्रीमती मिरा विश्वकर्माको नाममा समेत बीमा गरी आर्थिक भार सिर्जना गरिएको पाइएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीका अनुसार, विश्वासघात गरी झुक्याएर ठगी गरेको आरोपमा सन्तोष अधिकारीलाई नियन्त्रणमा लिई आपराधिक विश्वासघात तथा ठगी मुद्दामा अनुसन्धान थालिएको छ ।