रविन्द्र बराल, चैत १८ गते, रंगेली । मोरङको रंगेली नगरपालिकाले विपन्न वर्ग तथा ज्याला मजदुरी गरेर जिवनयापन गर्ने घरपरिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ ।
सोमबार नगरपालिकाको कार्यालयमा नगरपालिका सहित सर्वदलिय बैठकले कोरोना संक्रमण रोकथाम गर्ने उदेश्यले राहत प्याकेज घरघरमा गएर वितरण गर्ने निर्णय गरेको हो । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण लकडाउन चैत २५ गते सम्म थपिएपछि नगरपालिका भित्र रहेका अति विपन्न परिवार तथा ज्यालादारीमा काम गरी बिहान बेलुका छाक टार्नेको पहिचान गरी एक घर धुरी बाराबर १५ केजी चामल, दुई केजी दाल र एक केजी नुन वितरण गर्ने नगरपालिकाका मेयर दिलिप बगडियाले बताए । नगरपालिकाले पहिचरणमा ४ हजार प्रतिबोरा राहत बितरण गर्ने र अपुग भएमा पुन खरिद गरेर बितरण गरिने समेत बताए ।
बैठकले यस रंगेली नगरपालिका भित्र रहेको ईटा उद्योग र चण्डिका डिष्टिलरिमा काम गर्ने स्थानीय कामदारहरुलाई घर वसेको अवधिभरका दिनमा आधा ज्याला उपलब्ध गराउन सम्वन्धित उद्योगलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । साथै भारतबाट आएका मजदुरहरलाई उद्योगबाट बाहिर नजाने गरी उद्योगको हाता भित्र रहि काममा लगाउन समेत निर्णय समेत गरेको छ । नगरपालिका भित्र रहेको अस्पताल, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य शाखाले कार्यालय प्रमुखको समन्वयमा आवश्यक व्यवस्था मिलाइ तत्काल खरिद गरि औषधि आपुर्ति गर्ने समेत निर्णय गरेको छ ।