माघ १४ गते, पथरी । मोरङको पथरीशनिश्चरेमा पनि मतदाता नामावली अद्यावधिक गर्ने काम विहिबारबाट सुरु हुने भएको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको समितिको आजको बैठकले निर्वाचन आयोगले तोके बमोजिम विहिबारबाट मतदाता नामावली अद्यावधिक गर्ने विषयमा छलफल गरी निर्णय गरेको हो ।
वडाध्यक्ष, दलहरुका प्रतिनिधि, सुरक्षाकर्मी समेत सदस्य रहेको समितिको बैठकले भोली नगरपालिका कार्यालय र वडा कार्यालयहरुको सूचना पाटीमा कार्यक्रमको सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने तथा त्यसको प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।
माघ १६ गतेदेखि १८ गतेसम्म मतदाता नामावलीमा त्रुटी सच्याउन नगरमा रहेको सहायक नाम दर्ता अधिकारी समक्ष निवेदन दिने कार्यक्रम रहने छ । सो अवधिमा कसैको नामावली झुट्टा भए सो को विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा भए एकस्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका र नागरिकता त्यागेकाहरुको मतदाता नामावलीबाट नाम हटाउनका लागि सूचना दिने काम हुनेछन् ।
१८ देखि २० गतेसम्ममा त्रुटी सच्याउन, एकभन्दा बढी ठाउँमा नामावली भए एक ठाउँको हटाउन, मृत्यु भएका र बसाई सरी गएका, नागरिकता त्यागेकाहरुका सम्बन्धमा जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारी समक्ष पेश गर्ने कार्यक्रम रहेको छ ।