माघ २६ गते, पथरी । मोरङको पथरीशनिश्चरेमा पशुपंक्षीका लागि निःशुल्क खोप कार्यक्रम अन्तर्गत बाख्राका लागि पीपीआर रोग विरुद्धको खोप अभियान सुरु भएको छ ।
‘पशुपन्छीहरुलाई खोप लगाऔं, महामारी रोगबाट बचाऔं’, भन्ने नाराका साथ पथरीशनिश्चरे नगरपालिका कार्यालयको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र विराटनगरको सहयोगमा सप्ताहव्यापी खोप कार्यक्रम सोमबारबाट सुरु भएको हो । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वीरेन्द्रनगर सहकारीको स्थानीय संयोजनमा वडा नम्बर २ स्थित बोक्रेचोकमा आयोजित कार्यक्रमको उद्घाटन् गरेका थिए ।
कार्यक्रममा बोल्दै उपप्रमुख वास्तोलाले कृषि प्रधान नगरमा कृषि तथा पशुपंक्षीको व्यवसायिक बिकासका लागि यसखाले खोपले सघाउ पुर्याउने बताए । उनले खोप लगाएका बाख्राधनीलाई खोप कार्ड प्रदान गरे ।
पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर सहकारीका अध्यक्ष देवीप्रसाद दंगालले पनि शुभकामना मन्तव्य व्यक्त गरे । संघीय सरकार र प्रदेश सरकारमार्फत प्रत्येक वडाका लागि बाख्रामा लगाइने पीपीआर विरुद्धको खोप १५ हजार डोज उपलब्ध गराइएको छ ।
खोप लगाउने कामका लागि पुष्पबहादुर पौडेलको अगुवाईमा २१ जना पाराभेट्हरुको सहभागिता रहेको छ । पीपीआरपछि गाइ, भैसी र सँुगुरमा खोरेतको, सँुगुरमा स्वाइनफिवर, गाई र भैसीमा भ्यागुते र चर्चरे रोग विरुद्धको समेत खोप लगाइने कार्यक्रम रहेको छ ।