राजकुमारी तामाङ
फागुन १ गते, कानेपोखरी। मोरङको कानेपोखरी –४ स्थित ज्योती सामुदायिक वन उपभोक्ता समूहको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार भएको साधारणसभाले दुईजना व्यक्तिलाई सम्मान गरेको छ । मिलन चोक पूर्व मलामी खाजा घर निर्माण कर्ता वडा नं. ३ का मानबहादुर विश्वकर्मा र सोही स्थानमा टुवेल जडान गर्ने वडा नं. २ का भिम बहादुर कार्कीलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरेको हो ।
सभाले २०७६÷०७७ को आर्थिक बर्षमा ४ लाख ८५ हजार ७ सय २४ रुपैया आम्दानी र ४ लाख ४४ हजार २ सय २० खर्च गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । वनको ४१ हजार ५०४ रुपैया बैंक मौजाद रहेको वनका अध्यक्ष टंकेश्वरी याक्खाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि सव डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख तुलसी दास यादव र विशेष अतिथि वडा नं. ३ का वडाध्यक्ष किर्तीमान मादेन रेहका थिए । २०५६ सालमा २२.५८ हेक्टर जमिनमा वन संरक्षण सुरु गरिएको वन अहिले वडा नं. ३ र ४ का १५५ जना उपभोक्तहरुले संरक्षण गर्दै आइरहेको छ । वन समूहका अध्यक्ष टंकेश्वरी याक्खाको अध्यक्षतामा भएको साधरणसभामा वनका सचिव चित्र राईले संचालन गरेका थिए ।
मलामी खाजाघर निर्माणमा वनले ४२ हजार बराबरको ७१ किवी काठ र मानबहादुर विश्वकर्माको ३ लाख २५ हजारको लगानीमा मलामी खाजा घर निर्माण भएको हो । विश्वकर्माले आफ्ना स्वर्गीय हजुरबुबा बलिन्द्र, बुबा अभिलाल, दाजुहरु खड्ग र वीरबहादुर, छोरा बुहारी चन्द्रबहादुर र सानु विश्वकर्माका स्मृतीमा निर्माण गरिदिएको परिवारका सदस्य विशाल तिरुवाले बताए ।