फागुन १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका वडा वडामा ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ ले सोसँग सम्बन्धित बसोबासीको लगत संकलन कार्य सम्पन्न गरी लगत रुजु कार्य अघि बढाइएको छ ।
माघ ९ गते राजपत्रमा प्रकाशित सूचनाको मितिले ३५ दिनभित्र फागुन १४ गते अगावै लगत संकलन गरिसक्नुपर्ने निर्देशन बमोजिम नगरमा खडा भएको बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालयमार्फत वडा वडामा लगत संकलन कार्य भएको हो ।
लगत संकलनका खटिएका कर्मचारी र सहयोगीहरुले संकलन कार्य सकेर वडा वडामा जनप्रतिनिधिहरुको उपस्थितीमा फारम रुजु गर्ने र वडामा रेकर्ड राख्ने काम अघि बढाएको इकाई प्रमुख सरोज भट्टले जनाए । घर घरमा गएर लगत संकलनका क्रममा सो समयमा घरमा नभएर छुट भएकाहरुले वडा कार्यालयहरुमा सम्पर्क गरी लगत गर्ने काम आज पनि भएको छ ।
इकाई कार्यालय स्थापना गरी १० वडाबाट ३,३ जनाका दरले कर्मचारी नियुक्त गरेर लगत संकलन कार्य अघि बढाइएको भएपनि थप कर्मचारी समेत आवश्यक पर्ने देखिएपछि अन्य सहयोगीको व्यवस्थापन गरी लगत संकलन कार्यलाई तिव्रतर बनाइएको थियो । वडास्तरीय सहजिकरण समितिको पनि सक्रियता थियो ।