फागनुन १४ गते, पथरी । वन तथा भूसंरक्षण विभागको सामुदायिक वन अध्ययन केन्द्र काठमाडौंको आयोजनामा वन उद्यम तथा पर्यापर्यटन प्रदेश स्तरीय नेटवर्किङ गोष्ठी सम्पन्न भएको छ ।
मोरङ पथरीशनिश्चरे–२ को हरियाली सामुदायिक वनमा शुक्रबार १ नम्बर प्रदेशका प्रत्येक जिल्लाबाट सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी ३० जना सहभागी भएका थिए । सामुदायिक वन अध्ययन केन्द्रका विष्णु ज्ञवालीले गोष्ठीलाई सहजिकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले प्रकृतिको प्राकृतिकपनलाई दुरुस्त जोगाएर मात्रै पर्यापर्यटनको विकास गर्नुपर्ने बताइन ।
नगरमा पनि पर्यापर्यटन विकासका लागि नगरले साझेदारी कार्यक्रम अघि बढाउँदै गरेको जनाए । उनले नियम कानूनको परिधिमा रही वनलाई उद्यमका रुपमा अघि बढाउँदै पर्यापर्यटनको विकासमा लाग्न सहभागिलाई शुभकामना समेत व्यक्त गरे ।
डिभिजन वन भोजपुरका अधिकृत विष्णुलाल घिमिरे, सुनसरीका अधिकृत रामबहादुर श्रेष्ठले सामुदायिक वन र पर्यापर्यटनका बारेमा बोलेका थिए । हरियाली वनका तर्फबाट केशव दहालले संस्थाले खडा गरेको कम्पनीका बारेमा जानकारी गराउँदै संस्थाले तयार गरेको पर्यापर्यटनको बृहत डीपीआर प्रस्तुत गरे ।