व्यवसायिक कृषि तथा पशुपालन परियोजना उद्घाटन

फागुन १८ गते, पथरी । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले मोरङको पथरीशनिश्चरेमा भूटानी शरणार्थी र त्यसबाट प्रभावित क्षेत्रका लागि सञ्चालित व्यवसायिक कृषि तथा पशुपालन परियोजना आज उद्घाटन् भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको प्रमुख आतिथ्यतामा वडा नम्बर १० स्थित जागृति टोलमा च्याउ खेतीको उद्घाटन् गर्दै परियोजना नै उद्घाटन गरिएको हो । लुथरन विश्व फेडेरेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख राईले नगरमा कृषि र पशुपालन क्षेत्रमा नमूना काम गरेर देखाउनका लागि यसखाले कार्यक्रम मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे ।

१० नम्बर वडाध्यक्ष सागर राईको अध्यक्षताको कार्यक्रममा कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, लुथरनका लीलबहादुर कार्की, शरणार्थी शिविर सचिव चम्पासिंह राईले परियोजना सफलताको शुभकामना व्यक्त गरे । त्यहाँ शरणार्थीको तर्फबाट निमा तामाङ सहितको ५ जनाको समूहले च्याउ खेती सुरु गरेको हो । २ लाखको लागतमा विउ सहित च्याउका लागि ३ वटा कच्ची टहरा निर्माण गरिएको छ । नगर प्रमुखको अगुवाईमा निर्माणाधीन आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन र आधारभूत स्वास्थ्य सेवा प्रवाहको अवस्थाका बारेमा अवलोकन भएको छ ।

सोही ठाउँमा रहेको बाख्रा पालन कार्यक्रमको पनि अवलोकन भएको छ । त्यहाँ ११ लाखको लागतमा वस्ती र शरणार्थीको २ समूहका लागि बाख्राका २ वटा खोर निर्माण गरी प्रति खोर ३५ वटाका दरले बाख्रा खरिद गरिएको थियो । ७० वटा बाख्रा खरिदमा ५ लाख ७४ हजार रुपैयाँ यूएनएचसीआरले व्यवस्थापन गरेको थियो । त्यहाँ डेढ विगाहा जग्गामा च्याउ र बाख्रा पालन कार्यक्रम सञ्चालित छ । जिरिखिम्तीमा बंगुरपालन कार्यक्रम समेत अघि बढेको छ ।

परियोजनाको लागि १७ विगाहा जग्गा व्यवस्थापनको उद्धेश्य बनाइएपनि हालसम्म साढे ८ विगाहा जग्गा जुटेर वडा नम्बर १० का साथै ४ र ९ मा परियोजना सुरु भएको छ । वडाका आर्थिक विपन्न स्थानीय समुदायको जीवनस्तर सुधार गर्न ‘भूटानी शरणार्थी र स्थानीय समुदायका लागि कृषि तथा पशुपालन परियोजना’ तय गरी युएनएचसीआरले १ करोड ३८ लाख ९६ हजार रुपैयाँ बजेट छुट्याएर भदौ ९ गते नगरपालिका कार्यालयसँग सम्झौता गरेको थियो ।

कृषक समूह निर्माण गरी खेतीका लागि आवश्यक औजार, बाख्रा, बंगुर र कुखुरा खरिद तथा तिनीहरुका लागि खोर तयार गर्ने तथा जग्गाको पहिलो वर्षको ठेक्का रकम सो बजेटबाट छुट्याइएको छ । परियोजनाका लागि ६० घर परिवार भूटानी शरणार्थी तथा ४५ घर परिवार वडा नम्वर १०, ४ र ९ का समेटिने तय भएको थियो ।

 

सम्बन्धित खवर