साना किसान कृषि सहकारीद्धारा ११ जना सेयर सदस्यलाई सम्मान

२५ कार्तिक, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ मा स्थापित साना किसान सहकारी संस्थाले ११ जना सेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

शनिबार जनसेवा स्कुलको प्राङ्गणमा भएको संस्थाको ९ औं साधारण सभामा विभिन्न विद्यामा ११ जना सेयर सदस्यहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा उत्कृष्ट बचत समूहमा निर्मला लिम्बु, रुपा परियार, सिर्जना दर्जी, इन्द्रमाया मगर र फुलमाया मगर रहेका छन् ।

त्यस्तै उत्कृष्ट ऋणीमा कमला ओझा, बसन्त प्रसाद पौडेल र हिरामाया पौडेल, उत्कृष्ट पशुपालक दुधजन्यमा तेजेन्द्रप्रसाद पराजुली र उत्कृष्ट बाल बचतमा रिया लिम्बु र प्रशन्न धिमाल रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत , अतिथिहरु रमाइलो जनएकता साकोसका अध्यक्ष त्रिभूनाथ फुयल, जनसेवा माविका प्रधानाध्यापक प्रमोद निरौला लगाएतले सम्मान पत्र र नगदले पुरस्कृत तथा सम्मान गरेका थिए ।

कार्यक्रमका सभाअध्यक्ष संस्थाकी अध्यक्ष यशोदा लिम्बुले प्रगती प्रतिवेदन र आगामी कार्ययोजना प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाकी प्रबन्धक बिमला बिष्टले २०८०/०८१ को प्रगति एवम् आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाकी बिष्णुमाया फुयलले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले यस आर्थिक बर्षमा १८ लाख ८२ हजार ३ सय ४२ रुपैया शुद्ध बचत गरेको छ । गत आर्थिक बर्षमा संस्थाले २६ लाख ४६ हजार ७ सय रुपैया शुद्ध बचत गरेको थियो । त्यस्तै संस्थाले यस आर्थिक बर्षमा ३ करोड २५ लाख ६५ हजार ५ सय ४९ रुपैया निक्षेप गरेको थियो भने गत बर्ष २ करोड ७१ लाख ७७ हजार ७ सय ९० रुपैया निक्षेप रहेको थियो ।

जेनेटर खरिद गरी संस्थाले आफ्नै जग्गामा कोल्ड च्याम्बर सञ्चालन गरेको छ । संस्थाले सामूहिक जमानतमा ६० हजार, मासु र दुध जन्यमा स्थानीय गाई पालनमा रु ५० हजार, उन्नत गाई पालनमा ७० हजार, भैसीपालनमा १ लाख, दर्ता नभएको बाख्रा र बंगुरपालनमा ५० हजार आगामी दिनमा ऋण प्रदान गर्ने भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले ग्रामिण उद्यम कर्जा व्यत्तिगत परियोजनामा ५ लाख देखि ५० लाख सम्म, सामूहिक परियोजनामा ५ लाख देखि १ करोड सम्म ९ प्रतिशत व्याजदरमा किसानलाई ऋण उपलब्ध गराउने भएका छन् ।

संस्थाले आफ्ना सेयर सदस्यहरुलाई तरकारीको विउ विजनहरु निःशुल्क वितरण गर्दै आएको छ ।गत बर्ष विमाको कार्यविधि तयार गरी म्यादी विमा सुरु गरेको थियो । संस्थाले कानेपोखरीमै उत्पादन तोरीको शुद्ध तेल पेलान गरी संस्थाबाटै विक्रीवितरण गर्दै आएको छ । त्यस्तै पशुआहार साथै रासायनिक मल विक्रीवितरण पनि गर्दै आइरहेको छ ।

२०७२ सालमा स्थापना भई ३३ जना सेयर सदस्यबाट सुरु गरिएको संस्थामा अहिले १३०३ जना सेयर सदस्य रहेको छ । संस्थामा २३२ ओटा समूह रहेको छ ।
कार्यक्रम संस्थाकी सहायक प्रबन्धक फुलमाया तामाङले संचालन गरेकी थिइन् ।

 

सम्बन्धित खवर