चैत ८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरको अनुगमन् टोलीले वडा नम्बर ४ स्थित भागिरथ माध्यामिक विद्यालयको खाजाको अवस्था सहित विद्यालयको अनुगमन् गरेको छ ।
आइतबार नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले र सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा सम्मिलित टोलीले विद्यालयको अनुगमन् गरेको हो ।
अनुगमन्का क्रममा सामुदायिक विद्यालयको कक्षा ५ सम्मका विद्यार्थीका लागि सरकारले व्यवस्था गरेको खाजा खर्च बापतको रकमबाट दैनिक रुपमा खाजाका परिकार फेरबदल गरेर खुवाउने प्रवन्धका लागि सुझाव दिइएको छ ।
शिक्षा मन्त्रालयको निर्देशन तथा नगरपालिकाको निर्णय अनुरुपको मापदण्डमा रही विद्यार्थीलाई स्थानीय उत्पादन खुवाउने प्रवन्ध गर्नुपर्ने टोलीले निर्देशन समेत गरेको छ । नगर उपप्रमुखको संयोजकत्वमा खाजा व्यवस्थापन संयन्त्र उपसमिति समेत बनेको छ ।
टोलीले, शिक्षकहरुको दैनिक हाजिरी सहितका विषयमा पनि अनुगमन् गरेको छ । साथै नगरले बाँडफाँढ गरेको संघीय सरकारमार्फतको ३६ लाख रकमबाट बाली विज्ञान विषयको पठनपाठनका लागि त्यहाँ बन्दै गरेको विद्यालय भवनको पनि अनुगमन् गरेको छ ।