राज कुमारी तामाङ
बैशाख ३ गते, बयरवन । नयाँ वर्ष अर्थात बैशाखको आगमनसगै तराईका विभिन्न जिल्लामा सिरुवा पर्वको अवसरमा मेला लाग्ने गरेता पनि बिगत १ वर्ष अघि देिख कोरोना भाइरसको जोखिमका कारण यस पटक पनि नलाग्ने भएको छ ।
स्थानीय ग्रामथानको पूजा हुने मेलामा अत्यधिक मानिसको भीड लाग्ने र भीडभाडले कोरोनाको संक्रमण हुने भएकाले मेलामा रोक लगाइएको कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । यस्तै सुनवर्सी नगरपालिकाले सुचना प्रकाशित गर्दै सामूहिक भेटघाट, पुजापाठ, मेला नलगाउन आग्रह गरेको छ ।
बालबालिका देखि बृद्ध अवस्थाका मानिसले समेत मेलामा रमाउने, आफन्तजन भेटघाट गर्ने भएकाले पनि यसको छुट्टै महत्व रहेको छ ।
सिरुवा पर्व तराईका कोच समुदायले मनाउने गर्दछ्न । यस पर्वको अवसरमा मेला लाग्ने भएकाले अन्य समुदायले पनि यो पर्व मनाउने गरेका छन् । यस पर्वको अवसरमा जुडशीत्तल मनाउने र आफ्ना खेतबारीमा रहेका बोटबिरुवामा पानी हाल्ने चलन पनि छ । जुडशीत्तल बुढापाकाले आफ्ना सन्तानको शीरमा पानी छर्केर मनाउने गरिन्छ । यसबाट उनीहरू निरोगी र दीर्घजीवी हुने मान्यता छ ।
मोरङको सुनवर्षिबाट बैशाख १ गते देखि सुरु हुने मेला २ गते काटा, ३ गते कानेपोखरी– ३ को घुरघुरा, ४ गते कानेपोखरी–२ दलेली, ६ गते कानेपोखरी–२ कै चिसाङ हुँदै बैशाख महिना भरी मेला लाग्ने गरेको छ । यस्तै सुनसरीमा १ गते इटहरी नगरपालिकाको उबधीमा, २ गते सुनसरीको चाँदबेलामा, ३ गते गढी गाउँपालिकाको गढीमा, ४ गते चरैयामा, ५ गते छिटहा र पिचरामा, ६ गते सुनसरीकै खनार नजिकै भुस्कुलवा हुदै बैशाख महिना भर लाग्ने गरेको छ ।