निषेधाज्ञाको पालना भए नभएको नगरमा अनुगमन्

बैशाख २५ गते,पथरी । कोरोना भाइरसको संक्रमण बढेपछि निषेधाज्ञाको पालना भए नभएको सन्दर्भमा पथरीशनिश्चरे नगरमा अनुगमन् गरिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, बरिष्ठ उपाध्यक्ष विजय डाँगी सहितका प्रतिनिधि, इलाका प्रहरी कार्यालय र नगर प्रहरीका सुरक्षाकर्मीहरुबाट विहान पथरी बजार क्षेत्र अनुगमन् गरिएको हो ।

सरकारले तय गरेको पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर तोकेको समयभित्र मात्र तोकिएका अत्यावश्यकीय पसल सञ्चालन भए नभएको तथा अन्य पसल, यातायात तथा मानिसहरुको हिँडडुलको अवस्थालाई रोक्न अनुगमन् गरिएको छ ।

व्यवसायीहरुले अनिवार्य मास्क लगाउने र सेवाग्राहीलाई मास्क लगाउन लाउने, आफ्नो पसल अगाडी कम्तिमा डेढ मिटरको दूरी कायम गराउने, साबुनपानी र सेनिटाइजर राख्ने जस्ता सुझाव सहित पथरी बजार तथा सब्जी बजार क्षेत्र अनुगमन् गरिएको उपप्रमुख वास्तोलाले बताए । तोकिएको समयमा लागि तोकिएका पसल बाहेक बजार बन्दकै अवस्थामा रहेको छ ।

फलफुल, सागसब्जी, खाद्यान्न, खाना पकाउने ग्यास, खानेपानी, माछामासु, दूध, पशु आहारा दाना ओसार पसार तथा विक्री वितरण सहितका अत्यावश्यक वस्तुहरु सरकारले तोकेको पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर विहान ६ बजेदेखि विहान १० बजेसम्म विक्री वितरण गर्ने निर्णय भएको छ ।

साथै सो समयमा निर्माण सामग्री पसल संचालन तथा ओसार पसार, औजार उपकरणको ढुवानी तथा ढुंगा, गिट्टी, बालुवा बोक्ने ट्पिर विहान ६ देखि १० र बेलुका ६ देखि ८ बजेसम्म सञ्चालन गर्न पाइने प्रावधान बनाइएको छ । कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि कानून बमोजिम कारबाही गरिने छ ।

अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत, संचार, खानेपानी, बैंक तथा वित्तीय संस्था, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, तरकारी, फलफुल, पशु आहारा, दूध सहित सवै किसिमका कृषिजन्य सामग्री, इन्धन, औषधि, एम्बुलेन्स तथा विरामी बोकेका गाडी, शव वाहन, पत्रकार र सरकारी नम्बर प्लेटका गाडी बाहेक अन्य यातायातका साधन सञ्चालन गर्न नपाइने उल्लेख छ ।

विद्यालय, क्याम्पस, ट्यूसन टेन्सर, होटल तथा रेष्टुरेन्ट, सैलुन, व्यूटिपार्लर, गुद्री बजार, सब्जीमण्डी, स्वीमिङ पुल, सिनेमा हल, जिमखाना सहित अन्य व्यायामशाला, खेलकुदस्थल वन्द रहने तथा सरकारी कार्यालय तथा संस्थानहरुले आलोपालो गरी न्यूनतम कर्मचारी राखी अत्यावश्यक सेवा सञ्चालन गर्ने पनि निर्णय भएको छ । यसप्रकारको निर्णय विपरित काम भएमा कानून बमोजिम कारबाही हुने समेत उल्लेख भएको छ ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यसप्रकारको निषेधाज्ञा तत्काललाई वैशाख २४ गते राती १२ बजेबाट जेठ १ गते राती १२ बजेसम्मका लागि जारी गरिएको जनाए । पथरीशनिश्चरेमा हालसम्म १९ जनामा कोरोना संक्रमण देखा परेकोमा ६ जना अस्पतालबाट घर फर्किसकेका छन् ।

 

सम्बन्धित खवर