बैशाख २८ गते, कानेपोखरी । बयरवन महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवसमा भवन शिलान्यास गरेको छ । मोरङको कानेपोखरी–४, स्थित बयरवन बजारमा रहेको सहकारीले बजारको पिपल चोकमा गत विहिबार एक कार्यक्रमको आयोजना गरी गत बिहिबार शिलान्यास गरेको हो ।
स्वास्थ्य मापदण्ड अपनाई वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई र संस्थाकी अध्यक्ष कृष्णकुमारी गुरुङले संयुक्तरुपमा शिलान्यास गरेको थियो । यो बर्ष संस्थाले रमाइलो–बयरवन सडकले छुने १ कट्ठा ८ धुर जग्गा खरिद गरेपछि भवन निर्माण कार्य सुरु गरेको छ । अहिले तत्काल भवन हल सहितको तीन कोठे निर्माण गर्ने तयारी रहेको संस्थाकी अध्यक्ष कृष्णकुमारी गुरुङले बताइन् ।
संस्था स्थापनाकाल देखी संस्था वडा नं. ४ को परिसरमा अर्धपक्की भवन निर्माण गरी कारोबार गर्दै आएको थियो । कार्यक्रममा कानेपोखरी–७ मा रहेको गुणकेशरी अक्षयकोष समितिले संस्थालाई ५० हजार नगद हस्तान्तरण गरेको छ ।
संस्थाले स्थापना दिवसको अवसर पारेर संस्थामा रहेर उत्कृष्ट काम गर्ने सेयर सदस्यहरुलाई कदर पत्र र मायाको चिनोले सम्मान गरेको थियो । यसरी सम्मानीत हुनेहरुमा उत्कृष्ट ऋण लगानीमा देवी कटुवाल, उत्कृष्ट बाल बचतमा संयोग ओझा, उत्कृष्ट ऐच्छिक बचतमा संगिता लिम्बु, उत्कृष्ट मासिक बचतमा देवी कार्की कोइराला र उत्कृष्ट दैनिकमा सिला कुमारी माझी रहेका छन् ।
कार्यक्रममा वडा सदस्य शिव दुलाल, अपाङ्गता भएको व्यक्तिहरुको समूह (डिपिओ) कानेपोखरीको अध्यक्ष नगेन्द्र बस्नेत, नगेन्द्र भट्टराई लगाएत उपस्थित रहेका थिए । साना–साना महिलाहरुको समूह निर्माण गरी बयरवन महिला साकोस दर्ता गरी एक भएको संस्थामा अहिले १ हजार ५२ जना महिला सेयर सदस्य रहेको छ । संस्थाकी सचिव बालकुमारी राईले कार्यक्रम संचालन गरेको थियो ।