पथरीशनिश्चरे नगरमा १७ गते सम्म निषेधाज्ञा

जेठ ११ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा कोरोना संक्रमणको जोखिम यथावत नै रहेकाले अर्काे सूचना नभएसम्मका लागि यस अघि झैं औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत वन्द गर्ने निर्णय भएको छ ।

नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले अघिल्लो बैठकले गरेको निर्णयलाई निरन्तरता दिँदै अर्काे सूचना नभएसम्मका लागि औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत वन्द गर्ने निर्णय गरेको हो ।

बैठकले, जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिले जेठ ११ गते राती १२ बजेदेखि जेठ १७ गते राती १२ बजेसम्मका लागि थप गरेको निषेधाज्ञा आदेश पालना गर्न प्रचार प्रसार गर्दै अनुगमन् गर्ने र त्यसको उल्लंघन गरेको पाइएमा प्रहरी प्रशासनबाट आवश्यक कारबाही समेत गरिने पनि निर्णय गरेको छ ।

नगर उपप्रमुख एवम् समन्वय समिति सहसंयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षताको बैठकले नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राई सहित कोरोना संक्रमित नगरवासीमा सीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

निर्माण सामग्री बोक्ने मालबाहक यातायात साधनमा चालक बाहेक बढीमा २ जना सहयोगी मात्र रहने समेत बैठकले निर्णय गरेको छ । नगर अस्पतालमा आजबाट कोरोना संक्रिमतको उपचारका लागि सञ्चालनमा आएको आइसोलेसन वार्डमा खटिने स्वास्थ्यकर्मीको सेवा सुविधा सहितका विषयमा कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।

 

सम्बन्धित खवर