युएनएचसीआर र पथरीशनिश्चरे नगर विच कृषि तथा पशुपालनमा सम्झौता

भदौ १९ गते, पथरी । मोरङको पथरीशनिश्चरेमा भूटानी शरणार्थी र स्थानीयका लागि दातृ निकायको सहयोगमा सञ्चालन हुने कृषि तथा पशुपालन परियोजनाको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले भूटानी शरणार्थी प्रभावित क्षेत्रका लागि यसप्रकारको परियोजना सञ्चालन गर्न लागेको हो । परियोजना सम्वन्धमा, युएनएचसीआरका दमक प्रमुख जेम्स सिल्टन मुण्डो, लुथरनका प्रादेशिक कार्यक्रम संयोजक बालकृष्ण चौधरी, पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, शरणार्थी शिविर सचिव चम्पासिंह राई र १० नम्वर वडाध्यक्ष सागर राईले सम्झौतापत्रमा आज हस्ताक्षर गरेका छन् ।

पथरीशनिश्चरे १० मा रहेका शरणार्थी र विशेष गरी सो वडाका आर्थिक विपन्न स्थानीय समुदायको जीवनस्तर सुधार गर्न ‘भूटानी शरणार्थी र स्थानीय समुदायका लागि कृषि तथा पशुपालन परियोजना’ तय भएको छ । युएनएचसीआरका मुण्डोले त्यसबारेमा जानकारी गराए । सन् २०२० को अन्त्यसम्ममा परियोजना सुरु गर्नेगरी युएनएचसीआरले १ करोड ३८ लाख ९६ हजार रुपैयाँ बजेट छुट्याएको जानकारी गराइएको छ ।

कृषक समूह निर्माण गरी खेतीका लागि आवश्यक औजार, बाख्रा, बंगुर र कुखुरा खरिद तथा तिनीहरुका लागि खोर तयार गर्ने तथा जग्गाको पहिलो वर्षको ठेक्का रकम सो बजेटबाट छुट्याइने छ । जसमा शरणार्थी र स्थानीयको बराबरी सहभागितामा बढीमा १ सय परिवार आवद्ध बनाई समूह निर्माण गरेर परियोजना अघि बढाइने छलफलमा जानकारी गराइएको छ ।

सम्बन्धित खवर