किराया पथरीले जित्यो सामूहिक लोक नृत्यको उपाधि

 

१ पुस, पथरी । सामूहिक लोक नृत्य नगर च्याम्पियनको उपाधि किरात राई यायोक्खा पथरी शनिश्चरेले जितेको छ ।

पथरी शनिश्चरे –२ नम्बर वडाको आयोजनामा भएको प्रतियोगितामा शनिबार किरायाले जितेको हो । सामूहिक लोक नृत्य प्रतियोगितामा कार्यक्रममा नगरभरिका संघ, संस्था र विद्यालयहरु गरी जम्मा १० वटा समूहले भाग लिएको थियो ।

उक्त कार्यक्रममा सुजना डान्स सेन्टर दोस्रो र रेडस्टार बोर्डिङ स्कुल तेस्रो भएका थिए । प्रतियोगितामा प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगदसहित प्रमाण–पत्र, ट्रफी प्राप्त गरेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापा, वडा अध्यक्ष नैना राई र वडा नं. २ का निवर्तमान वडाध्यक्ष याम गुरागाई लगाएतले सामूहिक रुपमा वडाकार्यालयले खरिद गरेको पञ्चेबाजा बाजा समूहलाई हस्तान्तरण गरेका थिए ।

वडा अध्यक्ष नैना साम्पाङ राईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य चन्द्र कुमार राईले राखेका थिए । उक्त कार्यक्रममा सिड्लिङ मन्टेश्वरीका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा जनवादी गायक वीरध्वज शिवा, गायक आशिष जैरू, गायक पुष्प राई, गायक जगत राई, गायक नन्दु गुरुङले आ–आफ्ना गीतहरू गाएका थिए ।

सम्बन्धित खवर