एक हप्ता सम्म हात्तीपाइले विरुद्धको औषधि सेवन सुरू

फागुन २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा एक साता सम्ममा घर घरमा पुगेर हात्तीपाइले विरुद्धको औषधि खुवाइने कार्यक्रम सुरु भएको छ । हात्तीपाइले विरुद्धको औषधि खुवाइने कार्यक्रम शनिबार देखी चैत ४ गतेसम्म चल्ने छ ।

नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, पशुपन्छी शाखा प्रमुख हेमचन्द्र दहाल सहित सामाजिक अगुवा, सन्चारकर्मीहरूले औषधि सेवन गरेर कार्यक्रमको सुरु गरेको हो । वडा वडामा पनि वडाध्यक्षको नेतृत्वमा औषधि सेवन गरेर कार्यक्रम सुरु गरेका छन् ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत ११ औं चरणको हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियानका रुपमा नगरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकामार्फत घर घरमा गएर औषधि सेवन गराउने काम सुरू भएको छ ।

नगर प्रमुख औषधि अनिवार्य रुपमा सेवन गर्नका लागि सवै पक्षको प्रचारात्मक अभियान सहितको सहकार्यले हात्तीपाइले रोगलाई निर्मूल गर्न सकिने भएकाले सवैलाई यो अभियानमा सामेल हुन आव्हान गरे । औषधि सेवनमा कोहि छुटेमा उनीहरुबाटै पुन रोग सर्ने भएकाले अभियानमा सवै सामेल हुनुपर्ने प्रष्ट्याउँदै त्यस्तो आव्हान गरेका हो ।

क्युलेक्स जातको पोथी लामुखट्टेबाट सर्ने सो रोगको विरुद्ध यस वर्षदेखि लगातार ३ वर्षसम्म थप औषधि सहितको आइडीए औषधि सेवन विधिको क्रम सुरु भएको जनाइएको छ । गर्भवती महिला, ७ दिन भित्रको सुत्केरी, २ वर्षसम्मका बालबालिका, ओछ्यान परेका विरामी, क्षारे रोगका विरामीले बाहेक सवैले सो औषधि सेवन गर्न मिल्ने जानकारी गराइएको छ ।

सम्बन्धित खवर