ज्योती चौहान
चैत २४ गते, उर्लाबारी । उर्लाबारी नगरपालिका ८ नम्बर वडा कार्यालयको भवन शिलान्यास कार्यक्रममा मेयर खड्ग फागो वडाध्यक्ष र स्थानीयमाथि जाइलागेका छन् ।
जरुवापानी भन्ने ठाउँमा बुधबार विहान वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम राखिएको थियो । कार्यक्रम समापन गर्दैगर्दा आक्रोशित हुँदै मेयर फागोले आफुमाथि आक्रमण प्रयास गरेको वडाध्यक्ष कुलबहादुर कार्कीले बताए ।
वडाध्यक्ष कार्कीका अनुसार भवन शिलान्यास गर्न मेयर फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीलाई कार्यक्रममा निम्त्याइएको थियो । सुरुमा उपमेयर भण्डारी र त्यसपछि मेयर फागोले क्रमैसंग मन्तब्य राखेका थिए । कार्यक्रम अन्त्यका लागि सभापतिको तर्फबाट वडाध्यक्षले मन्तब्य राख्दै गर्दा मेयर फागो अराजक शैलीमा प्रस्तुत भएको उपमेयर भण्डारीले जनाइन् ।
जथाभावी बोल्दै वडाध्यक्ष कार्कीलाई हुलहुज्जत गर्ने गरी अघि बढेका फागोलाई स्थानीयले रोकेका थिए । वडाध्यक्ष कार्कीले गत पुसमै हुनुपर्ने नगरसभा नगरेको प्रसंग कार्यक्रममा उठाए थिए । आफुले पटक–पटक आग्रह गरेको तर मेयरले कार्यव्यस्तता जनाउदै कार्यपालिका र नगरसभा गर्न अनिच्छुक रहेको भनी वडाध्यक्षले मन्तब्य राखेका थिए ।
यसैक्रममा फागो ठुलो स्वरमा कराउँदै बोल्दै गरेका वडाध्यक्षलाई झम्टिएको स्थानीय रुद्र लामिछानेले जानकारी दिएका छन् । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका मेयरलाई सम्झाउँदा आफुहरु माथिपनि आइलागेको अर्का स्थानीय माधव भट्टराईले बताए ।