महानगरमा शैक्षिक सुधार अभियान

असार २९, विराटनगर । विभिन्न अभियान जारी राखेको विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान पनि साथै अगाडि बढाएको छ । अभियानअन्तर्गत महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको अनुगमनलाई तीव्रता दिएका छन् ।

दुईदिन अघि महेन्द्र मावि र सरस्वती माविको आकस्मिक अनुगमन गर्नुभएका मेयर कोइरालाले बिहीबार बिहान विराटनगर–६ सरोचियास्थित शिक्षा सदन माविको अनुगमन गरे । शिक्षा सदन बिहान पठनपाठन हुँदै आएको छ ।

वडाध्यक्ष हरिशचन्द्र सहनी (अक्षय), शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराई, महाशाखाका कर्मचारी र सचिवालयको टिमसहित विद्यालय पुग्नुभएका मेयर कोइरालाले सुरुमा हरेक कक्षामा पुगेर विद्यार्थीहरुसित मात्रै अन्तरक्रिया गरेका थिए ।

मेयर कोइरालासित विद्यार्थीहरुले शिक्षकहरुले कक्षा कोठामा बत्ती नभएको, छात्राका लागि छुट्टै शौचालय नभएको, सेनिटरी प्याड राख्ने डस्बिन नराखेको, शिक्षकहरुले होमवर्क दिए पनि चेक नगर्ने गरेकोलगायतका गुनासो पोखेका थिए । शिक्षकहरुले राम्ररी नपढाएकै कारण र विद्यार्थीहरु नियमित कक्षामा नआउने गरेको उनीहरुको भनाइ थियो ।

विद्यार्थीसितको अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षक–शिक्षिकाहरुसित छलफल गरेका थिए । महानगरको मुटुमा भएर पनि विद्यालयको शैशिक गुणस्तर खस्कनुमा प्रधानाध्यापकसहित सबै शिक्षक–शिक्षिकाहरुले जिम्मेवारी लिनुपर्ने उनले बताए । दुई महिनाभित्र पनि विद्यालयमा सुधार नआए महानगरले कडा कदम चाल्ने मेयर कोइरालाले चेतावनी दिए ।

महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा पंखा जोडिने र शिक्षकहरुसितको ई–हाजिरीसमेत चेक गर्ने मेयर कोइरालाले बताए ।

सम्बन्धित खवर