महिला र किशोरी माथि हुने हिंसालाई सवै मिलेर अन्त्य गर्नुपर्ने–उपप्रमुख वास्तोला

पुस ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरमा महिला तथा किशोरी माथि हुने हिंसालाई सवै मिलेर अन्त्य गर्नुपर्ने बताएकी छिन् ।

बुधबार नगरको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख वास्तोलाले ओरेक नेपालको सहयोगमा भएको हिंसा विरुद्धको सार्वजनिक सुनुवाई कार्यक्रममा सो कुरा बताएकी हुन ।

पथरीशनिश्चरे महिला फेडेरेशनले आयोजना भएको कार्यक्रममा उनीले पछिल्लो समयमा पुरुषहरु समेत हिंसामा परेको प्रसंग अघि सार्दै जो कोहि पनि हिंसामा पर्न नहुने बताउँदै नगरपालिकाको न्यायिक समितिले कानूनी सचेतना सहितका हिंसा अन्त्य गर्नेखाले कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरिन ।

‘सार्वजनिक स्थलमा महिला तथा किशोरी माथि हुने हिंसा सम्बोधन कार्यक्रम अन्तर्गतको सार्वजनिक सुनुवाई’ कार्यक्रममा बोल्दै नेकपा एमालेका रमेश दहाल, नेपाली कांग्रेसका रुपनारायण भट्टराई, नेकपा समाजबादीका देवेन्द्र वनेम, शिक्षिका भूमिका मगर सहितले हिंसा अन्त्य गर्न प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी कृष्ण खड्काले महिला तथा किशोरी हिंसाका घटनाका दोषीलाई कारवाही गर्न प्रहरीले प्राथमिकता दिइरहेको बताउँदै सवै नागरिक आफु समेत सचेत र जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सहभागि महिला तथा किशोरीहरुले आफुहरुमाथि भएका हिंसाका घटनाहरु सुनाएका थिए । फेडेरेशन उपाध्यक्ष निर्मला राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला अधिकारकर्मी सविता पोखरेल र ओरेक नेपाल विराटनगरकी कार्यक्रम अधिकृत गोमा भण्डारीले कार्यक्रममा आफ्ना प्रस्तुति राख्दै सहजिकरण गरेकी थिइन् ।

सम्बन्धित खवर