आश्रममा रहेका पथरीका ५ जना सहयोगापेक्षीको अवस्थाको बारेमा उपमेयरले लिए जानकारी

साउन २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रबाट उद्धार गरी विराटनगरका विभिन्न सहयोगी संस्थामा राखिएका सहयोगापेक्षीहरुको अवस्थाका बारेमा जानकारी लिइएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, सूचना सम्पादक भूपेन्द्रराज तिम्सिना, न्यायिक समितिका उजुरी प्रशासक विश्वमणि निरौला सहितको टोलीले ५ वटा संस्थामा पुगी आफ्नो नगरका र अन्य पालिकाका उद्धार गरिएका व्यक्तिहरुको अवस्थाका बारेमा जानकारी लिएको हो ।

टोलीले, प्रदेशको सामाजिक विकास मन्त्री उषाकला राई र सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बराललाई भेटी मन्त्रालय अन्तर्गत महिलाका लागि सञ्चालित दीर्घकालिन पुनस्थापना गृहमा रहेका नगरका महिलाको पुनस्र्थापनामा थप सहयोग पुर्याउन अनुरोध गरेको छ । त्यहाँको पुनस्थापना गृहका साथै पोखरिया र तिनटोलीयामा रहेको मानव सेवा आश्रम र त्यहाँ उद्धार गरेर राखिएका असहाय मानवको अवस्थाका बारेमा जानकारी लिइएको छ ।

टोलीले, तिनटोलीयामा रहेको आश्रममा १० नम्बर वडाध्यक्ष माधवराज वाग्लेसँग समेत कुराकानी गर्दै त्यहाँ उद्धार गरेर राखिएका महिला र पुरुषका लागि साँच्चैको मानव सेवा हुन पुगेको जानकारी प्राप्त गरेको छ । ती दुई आश्रममा गरी पथरी शनिश्चरेका ५ जना सहयोगापेक्षी रहेका छन् ।

त्यसैगरी, अप्ठेरोमा परेका किशोरी तथा महिलाहरुका लागि आवधिक गृहका रुपमा रहेको माइती नेपालको कार्यालयमा पुगी नगरको एक महिला र उनकी छोरीको अवस्थाका बारेमा जानकारी लिइ उनीहरुका लागि दीर्घकालिन सीप र पठनपाठनको व्यवस्थापनका बारेमा पहल गरिएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक नेपाल) को कार्यालयमा रहेका नगरका ३ जना किशोरीको बारेमा पनि जानकारी लिइ उनीहरुको पनि दीर्घकालिन पुनस्थापनका बारेमा पहल गर्ने टोलीले जानकारी गरायो । उनीहरुको दीर्घकालिन व्यवस्थापनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयसँग कुरा भएको नगर उपप्रमुख वास्तोलाले जनाइन ।

 

सम्बन्धित खवर