लेटाङ । मोरङको लेटाङ नगरपालिकबाट बालिका बलात्कारको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दुई बालिकामाथि बलत्कार गरेको अभियोगमा लेटाङ नगरपालिका–९ जाँतेका ४६ वर्षीय तीर्थबहादुर कार्की र लेटाङ–४ का २५ वर्षीय राजु दमाईलाई पक्राउ गरेको हो ।
११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कार्की र १४ वर्षीया बालिकालाई बलत्कार प्रयास गरेको आरोपमा दमाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए ।
प्रहरीका अनुसार गाउँबाट खसीको मासु लिएर आउँदै गर्दा लेटाङ–८ की बालिकालाई कार्कीले आफ्नै घर भित्र लगेर बलत्कार गरेको खुलेको छ । ललाईफकाई प्रलोभनमा पार्न खोजे पनि इन्कार गरेपछि बालिकालाई विभिन्न धम्की दिँदै भित्र लगेर बलत्कार गरेको खुलेको प्रवक्ता थापाले बताए । बालिकाले घटनाका बारेमा सबै कुरा बताएपछि अभिभावकले कार्की विरुद्ध किटानी जाहेरी दिएका थिए ।
पक्राउ परेका कार्की विरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बलत्कृत बालिकालाई भने उपचार र स्वास्थ्य परीक्षणका लागि कोशी अस्पताल विराटनगर लगिएको छ ।
त्यसैगरी दमाईले लेटाङ–५ खेरुवामा पढ्नका लागि स्कूल जाँदै गरेकी १४ वर्षीय बालिकामाथि बलात्कार प्रयास गरेका छन् । बाटोमा रहेको एकान्त जंगलमा पछाडिबाट आएर मुख थुने पनि उम्किएर भाग्न सफल भएका कारण बालिका बलत्कृत हुनबाट भने जोगिएको प्रहरीले जनाएको बताएका छन ।
फुत्किएर भाग्ने क्रममा बालिकाको अनुहारमा सामान्य चोटहरु लागेको डीएसपी थापाले बताए । उनलाई पनि उपचार र स्वास्थ्य परीक्षणका लागि कोशी अस्पतालमै लगिएको छ ।
बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि पक्राउ परेका दमाई विरुद्ध बाल यौन दुरव्यवहार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।