भदौ ११ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकामा पनि ४ वटा सामाजिक संस्थाले लकडाउनको समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न राहतका लागि ‘फुड बैंक’ संचालनमा ल्याउने भएका छन् ।
लायन्स क्लब अफ कानेपोखरी, रमाइलो जेसिज, नेपाल रेडक्रस सोसाइटी वयरवन उपशाखा र व्यापार प्रबन्ध समिति कानेपोखरी व्यवस्थापनमा ‘फुड बैंक’ वडा नं. ७ को बरगाँछीबाट भालीबाट सुरु हुने भएको हो ।
लकडाउनका कारण समस्यामा परेका गाउँपालिका भित्रका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार चामल, दाल, खाने तेल र नून दिने तयारी गरेको लायन्स क्लब अफ कानेपोखरी प्रसिडेन्ट गणेश सुवेदीले बताए । उनले यो व्यवस्थापनमा लागेका चारवटाले ५ हजारको दरले संकलन गरिसकेको बताए ।
‘हुनेले दिएर जाऔंं, नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथ अभियानमा ४ वटा संस्था अभियानमा जुटेका छन् । यसखाले सहयोगको अभियानका लागि विभिन्न पक्षबाट ठुलो सहयोग जुट्ने अपेक्षा रहेको व्यवस्थापन पक्ष बताउँछन् ।